बुद्धीमान पुन
सल्यान, ३ मंसिर (रेडियो राप्ती) । सल्यानका एक जनप्रतिनिधिले राजीनामा दिएर शिक्षकको जागिर खानुभएको छ । सिद्धकुमाख गाउँपालिका–४ का वडाध्यक्ष दिनेशकुमार बुढामगरले वडाध्यक्ष पदबाट राजीनामा दिएर प्राथमिक तहको शिक्षकमा जागिर खानुभएको हो ।
बुढामगर २०७४ को स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट विजयी हुनुभएको थियो ।
शिक्षक सेवा आयोगले लिएको प्राथमिक तहको खुलाकोटाअन्तर्गत मुस्ताङबाट नाम निकाल्नु सफल भएपछि उहाँले पदबाट राजीनामा दिएर शिक्षण पेसा रोज्नुभएको हो ।
वडाध्यक्षलाई अधिकारबिहिन बनाइएको भन्दै आफुले शिक्षण पेशा रोजेको बुढामगरले कर्णाली रैबारलाई बताउनुभयो ।
बुधबार गाउँपालिकामा आएर बुढामगरले दिएको राजीनामा स्वीकृत गर्दै ज्येष्ठ वडासदस्य वीरबहादुर खड्कालाई कार्यवाहक वडाध्यक्षको जिम्मेवारी दिइएको गाउँपालिका अध्यक्ष चित्रबहादुर चलाउनेले जानकारी दिनुभएकोे छ ।