हुम्ला सदरमुकाममा फोहर व्यवस्थापन नहुँदा सास्ती (अडियोसहित)

हुम्ला, ३ मंसिर (जागरण) । हुम्लाको सदरमुकाम सिमकोटको फोहोर व्यवस्थापन व्यवस्थित नहुँदा आसपासको क्षेत्र दुर्गन्धित बनेको छ ।
सिमकोट गाउँपालिका ५, तल्लो गाउँमा गाउँपालिकाले अस्थायी डम्पिङ साइड निर्माण गरे पनि जथाभाबी फोहोर फाल्ने क्रम बढेपछि सदरमुकाम दुर्गन्धित बन्दै गएको हो ।
बजार क्षेत्र र डम्पिङ साइडमा फालिएको फोहोरका कारण अधिकांश क्षेत्र दुर्ग्न्धित बन्न थालेको स्थानीयको गुनासो छ ।
दुर्गन्ध बढ्दै गएपछि तल्लो गाउँ र आसपासका बासिन्दा नाक थुनेर सिमकोट आउजाउ गर्न बाध्य भएको स्थानीय छक्कबहादुर रोकायाले बताउनुभयो ।
यता गाउपालिकाले भने फोहोर व्यावस्थापनको लागि चोक–चोकमा फोहोर उठाँउने गरेको जनाएको छ ।
अहिले गाउँपालिका भित्रका सबै वडाले महिनाको १५ गते, र गाउँपालिकाले एक महिनाको तिन पटक फोहोर व्यावस्थापन गर्ने गरेको गाउँपालिकाका अध्यक्ष पदम बहादुर लामाले कर्णाली रैबारलाई बताउनुभयो ।