सुर्खेत, ३ मंसिर (जागरण) । कर्णाली प्रदेशमा प्रेस स्वतन्त्रता विरुद्धका घटनाहरु बढ्दो क्रममा रहेको पाइएको छ । फ्रिडम फोरमले गरेको अध्ययन अनुसार प्रेस स्वतन्त्रता विरुद्ध हुने घटनाहरु बढेको पाइएको हो ।
संस्थाले गरेको अध्ययन अनुसार सन् २०१८ मा कर्णाली प्रदेशमा तीन वटा प्रेस स्वतन्त्रता विरुद्धका घटना घटेका थिए भने देशभर ९७ वटा घटनाहरु घटेका छन् ।
त्यसगरी अघिल्लो वर्ष दुई सय १७ जना पत्रकार माथि आक्रमणका घटनाहरु घटेका छन् । जसमा २६ जना महिला पत्रकारमाथि आक्रमण भएको छ ।
त्यसैगरी सन् २०१९ मा यसको संख्या बढेर ६ वटा घटना पुगेको छ । यस वर्ष एक सय ७६ जना पत्रकार माथि आक्रमणको घटना घटेका छन् ।
जसमा १० जना पत्रकार महिला रहेको फ्रिडम फोरमका महासचिव ध्रर्मेन्द्र झाले बताउनुभयो । फ्रिडम फोरम नेपालले सोमवार वीरेन्द्रनगरमा आयोजना गरेको पत्रकार सुरक्षा र दण्डहिनता विषयक कार्यक्रममा पत्रकार विरुद्ध घटेका घटनाहरु प्रस्तुत गर्दै प्रेस विरुद्ध हुने दण्डहिनताका घटनाहरु बढ्दो क्रममा रहेको बताउनुभयो ।
उहाँले पत्रकार विरुद्ध हुने घटना अन्तयको लागि सरकार प्रतिबद्ध हुनुपर्ने बताउनुभयो । त्यसैगरी पत्रकारहरु स्वयंमले पनि आचारसंहिता पालना गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा बोल्दै आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीले पत्रकार विरुद्ध हुने दण्डहिनताको घटना अन्त्य गर्नको लागि कर्णाली सरकार प्रतिवद्ध रहेको बताउनुभएको छ । कर्णालीमा पत्रकार विरुद्धका आपराधिक घटनाहरु बढिरहेको भन्दै यसको अन्त्यको लागि प्रदेश सरकार लागिपर्ने उहाँको भनाई छ ।
पत्रकारको सुरक्षाको लागि कर्णाली सरकारले स्वास्थ्य विमा कार्यक्रम लागु गरेको बताउनुभयो । जसबाट गत जेठमा दुर्घटनामा परेका स्वर्गीय पत्रकार नन्दु गेलाङको परिवारलाई दुई लाख ५० हजार रकम प्रदान गरिएको बताउनुभयो ।
त्यसैगरी पत्रकारिता विषयमा स्नाकोत्तर गर्नको लागि छात्रवृत्ति कार्यक्रम लागु गर्ने तयारीमा रहेको मन्त्री भण्डारीले बताउनुभयो ।
कर्णाली सरकारका मुख्य न्याधिवक्ता विद्याभुषण मानन्धरले पत्रकारहरुले स्वतन्त्र भुमिका निर्वाह गरेर अघि बढ्न जरुरी रहेको बताउनुभयो ।