कालि बहादुर नेपाली
जाजरकोट, ३ मंसिर (रेडियो खलंगा) । पछिल्लो समय विश्वमै दुर्लभ चिरकालिजको व्यापक चोरी सिकारी हुन थालेपछि जाजरकोटमा संरक्षणको लागि पहल शुरु गरिएको छ ।
सामुदायिक वन समूह र सरोकारवालाले संरक्षणका लागि चासो नदेखाएपछि यसको चोरी सिकारी रोक्न वन तथा वातारणमन्त्री शत्तिबहादुर बस्नेतको निर्देशनमा चिरकालिज लगायतका जङ्गली जनावरको संरक्षणका लागि चासो बढेको हो ।
कालिज साविकका नायकवाडा, रोकायगाउँ, रामीडाँडा, सक्ला, खगेनकोट, लहँ, रग्दा, भगवती, पैक, ढिमे, झाप्रा र अर्छानीलगायतका गाविसमा पाइन्छ । चिरकालिजलाई स्थानीय सिकारीले पासो थापेर मार्ने गरेपछि यसको संरक्षण गर्न कुनै कदम बाँकी नराख्न आग्रह गरिएको छ ।
राष्ट्रिय पक्षी संरक्षण सङ्घका सदस्यसमेत रहनुभएका पशु स्वास्थ्य प्राविधिक गोविन्दबहादुर सिंहले विश्वमै दुर्लभ पक्षीलाई चेतनाको अभावमा मार्ने गरिएको बताउनुभएको छ ।