पंखबहादुर शाही
सुर्खेत, ५ मंसिर (जागरण) । कर्णाली प्रदेश सरकारका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री नन्दसिंह बुढाले कर्णालीमा १ लाख वाह्य पर्यटन भित्र्याउने लक्ष्यका साथ अघि बढिरहेको बताउनुभएको छ ।
सेती बराह मिडिया प्रमोशन प्रा.लीले आयोजना गरेको वीरेन्द्रनगरमा पर्यटन क्षेत्र प्रवद्र्धन र विकास विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।
संघीय सरकारको नेपाल पर्यटन भ्रमण बर्ष २०२० को कर्णाली प्रदेशको संयोजक समेत रहनुभएका मन्त्री बुढाले नेपाल पर्यटन बर्षलाई सफल पार्नका लागि कर्णालीमा पहिलो बैठक बसिसकेको जानकारी दिननुभयो ।
वैठकले कर्णाली प्रदेशमा ३१ सदस्यको समिति बनाईएको भन्दै मन्त्री बुढाले विगतमा २२ देखि ,२५ हजार मात्र वाह्य पर्यटक भित्रिएको तथ्याङ्क रहेको बताउनुभयो । यो बर्षदेखि पर्यटक संख्या बढ्दै जाने दाबी दिनुभयो ।
मन्त्री बुढाले पर्यटन प्रबद्र्धनका लागि सरकारले मात्र एक्लै केहि गर्न नसक्ने भन्दै पर्यटन क्षेत्रमा नीजि क्षेत्रको लगानी मुख्य भुमिका रहने बताउनुभयो ।
एक लाख पर्यटक भित्र्याउनको लागि विभिन्न नौ ओटा लक्ष्य आफुहरुले बोकेको भन्दै बुढाले विगतमा संघीय सरकारले कर्णालीलाई हेँला गरेका कारण यहाँको पर्यटन क्षेत्र उपेक्षामा परेको बताउनुभयो ।
कर्णालीका पर्यटन क्षेत्रहरुको प्रचार प्रसार आवश्यक रहेको भन्दै उहाले यसको लागि सञ्चार क्षेत्रको भुमीका महत्वपूर्ण हुने बताउनुभयो ।
कर्णालीका पर्यटकिय क्षेत्रहरुको अवलोकन गर्नका लागि साहासिक पर्यटकहरु भित्रिने भन्दै कर्णालीको विकासको पहिलो आधार नै पर्यटन क्षेत्र भएको बताउनुभयो ।
उहाले प्रदेश सरकारले पर्यटन क्षेत्रको मास्टर प्लान सहितको गुरुयोजना तयार गरेको जानकारी दिनुभयो ।