सुर्खेत,५ मंसिर (जागरण) । नेपालभर सञ्चालन गरिएको ‘नर्सिङ नाओ’ क्याम्पियन कर्णाली प्रदेशको सुर्खेतमा पनि सञ्चालन भएको छ ।
अन्तर्राष्ट्रिय नर्सिङ परिषद् र विश्व स्वास्थ संगठनको संयुक्त अभियानअन्तर्गत नेपाल नर्सिङ संघको आयोजनामा कर्णाली प्रदेशका नर्सिङ पेशा अंगालेका स्वास्थ्यकर्मीहरुका लागि तीन दिने क्याम्पियन गरिएको हो ।
जसअन्तर्गत नर्सहरुलाई पेशागत विकास, नर्सको व्यवहार तथा सेवाग्राहीसँगको सञ्चार सीप र नेपाल सरकारको स्वास्थ्य नीतिलाई सफल कार्यान्वयन गराउन क्याम्पियन गरिएको हो ।
नेपाल नर्सिङ काउन्सिलका केन्द्रीय उपाध्यक्ष प्राध्यापक डाक्टर तारा शाहकाअनुसार यस्तो क्याम्पियन नेपालभर हालसम्म नौ स्थानमा गरिसकिएको छ ।
सन् २०१८ देखि २०२० सम्मका लागि विश्वभर स्वास्थ्य पहुँच, गुणस्तरीय सेवालाई प्रभावकारी बनाउन अन्तर्राष्ट्रिय नर्सिङ परिषद् र विश्व स्वास्थ संगठनले संयुक्त अभियान चलाएको र नर्सलाई सशक्त बनाउन सकिएमात्र सम्भव हुनेमा कार्यक्रममा जोड दिइएको छ । सुर्खेतको कार्यक्रम भोली सकिने छ ।