मेराे एक वर्ष उपलब्धीमुलक रह्याेः अध्यक्ष रावल

सुर्खेत, २८ वैशाख (जागरण) । स्थानीयनीय सरकार अन्तर्गत जागरण एफ. एम. र www.jagaran.com.np ले कर्णाली प्रदेशका स्थानीय सरकारले गरिरेहका काम, आगामी योजना, खेप्नुपरेका चुनौतिलाई समेटेर विभिन्न सामग्री प्रसारण र प्रकाशन गर्दै आएका छौँ ।
जागरणकर्मी चाँदनी कठायतले हुम्लाको खार्पुनाथ गाउँपालिकाका अध्यक्ष कर्ण रावलसँग कुराकानी गर्नुभएकाे छ ।

प्रस्तोताः यो एक वर्षको अवधिमा तपाईँले गर्नुभएको मुख्य तीन काम के–के हुन् ?

पाहुनाः अहिले यो अवधिमा मुख्य तीन काम भन्नुपर्दा सिमकोट गाउँपालिकादेखि खार्पुनाथसम्म मोटरबाटो जोडिएको छ । तीन वटा विद्यालय भवन बनाएका छौँ । विद्युत् जडानका लागि पोल ढुवानीको काम भएको छ । काम त धेरै भएको छ तर कर्मचारी अभावका कारण अलि समस्या भएको छ । जुन रफ्तारले काम गर्छौँ भनेका छौँ कर्मचारी नहुँदा समस्या भएको छ ।

प्रस्तोताः आगामी चार वर्षका लागि तपाईँको योजना के छ ?

पाहुनाः आगामी चार वर्षभित्र काम गर्नका लागि हामीले भिलेज प्रोफाईल बनाएका छौँ त्यही अनुसार हामी काम गर्छौँ । हुम्ला राष्ट्रिय सडक सञ्जालसँग जोडिएको छैन यस्लाई जोड्ने र प्रत्येक वडामा सडक विस्तारसँगै विद्युत् पु¥याउने गरी काम गरेको छु ।

प्रतोताः शिक्षा र स्वास्थ्यमा सुधार ल्याउनका लागि कस्तो योजना बनाउनुभाछ ?

पाहुनाः शिक्षा नियमावली बनाएका छौँ । शिक्षक दरवन्दीको मिलान गराउँदैछौँ । अनि प्रविधिमैत्री शिक्षाका लागि हामीले विद्यालयमा कम्प्युटर प्रोजेक्टर ल्याउने तयारीमा छौँ । एउटा सीता माविमा चाहिँ ल्याईसकेका छौँ । स्वास्थ्यको क्षेत्रको कुरा गर्नेहो भने सदरमुकाममा मात्रै छ १५ शैयाको अस्पताल । अब म गाउँपालिकामा नै १५ शैयाको अस्पताल बनाउँछु र जनतालाई सहज स्वास्थ्य सेवा दिनेछु ।

प्रस्तोताः तपाईँको यो एक वर्ष कत्तिको उपलब्धीमुलक ठान्नुहुन्छ ?

पाहुनाः म उपलब्धीमुलक नै ठान्छु किनकी मैले अन्य पालिका भन्दा राम्रो काम गरेको छु भन्नेमा म विश्वस्त छु । मैले अहिलेसम्म ७५ प्रतिशत बजेट सकिसकेको छु काम गरेर । बजेट खर्च गरेअनुसार काम पनि भएको छ । त्यहीभएर म सफल भएको मलाई लाग्छ ।

प्रस्तोताः तपाईँको अहिलेको गाउँपालिका र पछि तपाईँ बाहिरिएर जानेबेलाको गाउँपालिकामा जनताले के फरक पाउनेछन् ?

पाहुनाःअहिलेको भन्दा धेरै विकसीत गाउँपालिका हुनेछ । सबै वडामा विजुली जडान भएको हुनेछ । सबै गाउँमा सडक पुगेको हुनेछ र गाडी गुडेको हुनेछ । सबै उत्पिडीत वर्गको उत्थान भएको अनि जनता शिक्षित र स्वस्थ भएको हुनेछ । म यो अवस्थासम्म पु¥याउनेछु ।