कर्णालीमा सकारात्मक रुपान्तरणको प्रचुर संभावना

डा. राम चन्द्र लामिछाने ।

विकास निरन्तर चलिरहने प्रक्रिया हो । प्राकृतिक श्रोतहरुको सन्तुलनता कायम राखेर जीवनलाई सहज र उत्साहवर्धक वनाउनु नै विकासको उद्देश्य हो । अर्थशास्त्री अमात्र्य सेनका अनुसार विकास भनेको नागरीकहरुको दक्षताको अभिवृद्धि हो । नागरीक दक्षताले स्वतन्त्रताको प्रत्याभुति गराउँदछ र स्वतन्त्रताले नागरीकहरुलाई मनपराएका वस्तुहरु प्राप्ती गर्ने अवसरमाथीको पहुँचलाई वढाउदछ । अनेकौँ मौलिक विविधताका वावजुद हाम्रो समाज एक अर्कामा अन्तरनिर्भर छ र यो समाज समृद्ध, शान्त र गतिशिल हुनका लागि प्रत्येक व्यक्तिका आधारभुत आवश्यकता, सामाजिक सरक्षा र आत्मसम्मानको सुनिश्चिता भएकै हुनु पर्दछ । विगतको पञ्चायत र वहुदलले यी तीनै कुराहरुको व्यवस्थापन गर्न नसक्दा गाउँदेखी शहर सम्म असन्तुष्टि र विद्रोह सिर्जना भएको कारण नै यो नयाँ र परिवर्तित अवस्था सिर्जना भएको हो । मानिसको चेतना नै सिर्जनाको मुहान हो र व्यक्तिको दक्षतासँग सगै नयाँ नयाँ आविष्कार र सिर्जन हुन थाल्दछ । आज हिजो जस्तो होइन र भोलि आज जस्तो रहँदैन त्यसकारण विकासले जनताको जीवनमा सकारात्मक परिवर्तनको महशुस गराउने गरी समयको गति र नियमलाई वुझेर योजना, नीति तथा कार्यक्रमहरु वनाउनु पर्दछ । समयको नियम के हो भने प्रत्येक भोलि आज वनेर जीवनमा आउदछ र हिजो वन्दछ । त्यसकारण हिजो, आज र भोलिमा हामीले कहाँ के कसरी प्रभाव पार्न सक्दछौ भन्ने कुरा पत्तालगाउन जुरुरी हुन्छ । एकछिन समयको नियम र त्यसको प्रभावको वारेमा कुरा गरौँ । विगत भनेको वितेको समय हो । यो यस्तो अवस्था हो न त फिर्ता ल्याउन सकिन्छ न मर्मत गर्न नै सकिन्छ । यसवाट दुईवटा सिकाई हुन्छन् । एक सफलताका सिकाई अर्को असफलताको सिकाई । सफलतका कारण र प्रभावहरुको व्याख्या र विश्लेषणले मानिसलाई उत्साहित र सिर्जनशिल बनाउदछ, एक आपसमा जोड्दछ र थप उत्साह र सिर्जनशिलताको लागि प्रेरित गर्दछ । असफलताका कारण र परिणामको व्याख्याले दोषारोपण, निराशा र निरुत्साहित बनाउदछ । व्यक्तिलाई गैरजिम्मेवार, मतिभ्रष्ट, आलोचित, शंकालु र द्वन्द्व उन्मुख बनाउदछ । व्यक्तिलाई अपराधी र दोषि प्रमाणीत गर्नु छ भने असफलताका कारण र परिणामहरुको खोजि र व्याख्या गर्नु पर्दछ ।
वर्तमान भनेको हिजोका निर्णयहरुको परिणाम हो जुन परिवर्तन हुँदैन । हिजो गरिएका निर्णयहरुले नै आजलाई निर्धारण गर्दछ । भविष्य भनेको नै सकारात्मक रुपान्तरणको भण्डार हो । यदि यो भण्डारलाई नयाँ तरिकाले परिभाषित गरेर नयाँ नयाँ योजना निर्माण गरेर ती योजनामा आधारीत भएर कार्यक्रम सञ्चालन गरीयो भने भविष्य वर्तमानमा आउदा रुपान्तरणको अनुभव र महशुश गर्न सकिन्छ । प्रसिद्ध वैज्ञानिक अल्वर्ट आन्सटाईनका अनुसार परिकल्पना ज्ञान भन्दा शक्ति शाली हुन्छ त्यसकारण चाहे जस्तो वर्तमान प्राप्तीको लागि भविष्यको परिकल्पना गरेर सो अनुसारको आचरण व्यवहार, नीति तथा कार्यक्रम वनाउनु पर्दछ । तर यदि भविष्यलाई विगतका असफलताका कारण र परिणामसँग जोडेर अगाडी बढ्यौँ भने भविश्य पनि विगत जस्तै बनेर जीवनमा आउँदछ । त्यसकारण नेपालीका अगाडी दुईवटा अवसरहरु विद्यामान छन् ।

१. विगत लामो समय देखी चल्दै आएको विगतका गल्ती तथा कमजोरीहरुको सुधार

२. नयाँ र रुपान्तरणकारी भविष्यको निर्माण ।

यी दुईमध्ये सही विकल्पको छनौटले मात्रै नेपाल र नेपालीको भाग्य र भविष्यको फैसला गर्दछ । विकासको सन्दर्भमा हालसम्म नेपालका योजना निर्माण पद्धती, सरकारी नीति तथा कार्यक्रमहरु विगतका गल्ती तथा कमजोरीहरु सुधार्ने खालका छन् । त्यसकारण वर्षेनी खरवौँ रुपैयाँ विकासको नाममा खर्च हुँदा पनि देशले विकासमा गति लिन सकेको छैन ।
वर्तमान प्रधानमन्त्रीको विकासको चाहना र हुटहुटी अत्यन्तै अनुकरणीय र प्रेरणादायी छ तर सरकारका नीति तथा कार्यक्रमहरु र योजना आयोगको गतिविधी विगतलाई सच्याउने खालको मात्रै भएको कारण जनताले फरक महशुश गर्न सकेका छैनन् भने देशले नयाँ गति लिन सकेको छैन । संघिय सरकार, प्रदेश सरकार र अधिकाँश स्थानीय सरकारहरु विगतलाई सुधार्न तल्लिन छन जसको अधिकतम प्रतिफल भनेको नै यथास्थितीको निरन्तरता र विकासका प्रतिफलवाट गरिवको विस्थापन हो । योजना तर्जुमा यो र यस्तै पद्धतीले यो सरकारको कार्यकालको अन्तसम्म पनि जनताले विकासको महशुश गर्न पाउने छैनन् र समग्रमा सरकार असफल प्रमाणीत हुनेछ ।
योजना आयोग र सवै तहका सरकारको विकासको हालको मोडल पूँजीवादी विकासको असफल नमूना हो । अहिले भई रहेको विकासको प्रकृयाले समाजवादको आधारशिला ध्वस्त गर्दै गरिव र धनिको विचको खाडलको अभिवृद्धि गरिरहेको छ । समग्र रुपमा यस मोडलमा पुर्नविचार गरेर देशलाई विकासे दुर्घटनावाट अवतरण गर्नु पर्दछ । नयाँ संविधानले दिएको स्वायत्तताको सदुपयोग गर्दै प्रदेस सरकार र स्थानीय सरकारले २१‌ औँ शताब्दीको ज्ञानमा आधारीत विकासको नमुनालाई आधार मानेर विकास योजनालई तर्जुमा गरेर कार्यान्वयन गरेमा द्रुत र दिगो विकास संभव हुन्छ । एक्काईसौँ शताब्दीको विकासको श्रोत भनेको नै जनताको सोच र व्यक्तिगत दक्षता हो । विकासका आधारभुत तत्व भनेको जनता, समाज र वातावरण हो । हाम्रा वरीपरी भएका प्राकृतिक तथा साँस्कृति श्रोतहरुको अनुकरणीय सदुपयोग नै विकास हो । त्यसकारण उपलब्ध श्रोत र साधनहरुको अधिकतम सदुपयोगको लागि जनताको तयारी र चाहना प्रथम शर्त हो । श्रोत तथा साधनको अधिकतम सदुपयोगको लागि जनताको दक्षता तथा क्षमतामा व्यापक वृद्धि गरिनु पर्दछ । सिप र दक्षताको अभावमा आफनै अगाडी भएका श्रोत तथा साधनको मुल्य बुझ्न नसकेर मानिसहरु शहर तथा वजारतिर विस्थापित भएका छन र वहुमुल्य श्रोत तथा साधनहरु खेर गईरहेका छन । उपलब्ध श्रोतको सिर्जनशिल सदुपयोग गर्न सक्ने सामथ्र्य र क्षमताले व्यक्तिको स्वतन्त्रता र आत्मसम्मानलाई प्रवर्धन गर्दछ भने यसले वैदेशीक आयलाई प्रतिस्थापन गरी आत्मनिर्भर अर्थतन्त्रको जग निर्माण गर्दछ ।
कर्णाली प्रदैसप्रचुर संभावना भएको देशको आकर्षक र मनोरम प्रदेश हो । यस प्रदेशको विकासको आधार भनेको नै जनशक्ति, जडीवुटी, पर्यटन, कृषि र लघु उद्यम हुन् । प्राकृतिक रुपमा मनोरम र सुन्दर यस प्रदेसमा थप प्रदुषण फैलाउने कुनै पनि उद्योगहरुको स्थापना कडाईका साथ प्रतिवन्ध लगाउनु पर्दछ । यहाँको समृद्धिको आधार नै जैविक सन्तुलन सहितको विकास हुनुपर्दछ । जैविक सन्तुलन नै प्रादेसीक पहिचानको रुपमा स्थापित गरिनु पर्दछ । २१ औँ शताब्दीको पर्यटन दृश्यावलोकन र सौन्दर्यताले मात्रै प्रयाप्त हुँदैन । पर्यटन विकासको लागि आधारभुत तत्व भनेको ज्ञान तथा प्रज्ञान सहितको स्थानको प्राज्ञीक पहिचान हो । जव संसार भरी यस प्रदेशवाट दिक्षित विद्यार्थीहरु फैलिन्छन अनिमात्रै कर्णाली प्रदेश दुनियाँको एक अपरिहार्य गन्तव्यस्थल वन्दछ र यहँको पर्यटन दिगो र गुणस्तरीय हुन्छ । भौगोलिक, साँस्कृतिक, आध्यात्मीक तथा प्राकृतिक सम्पदाको अनुपम संगमस्थलको रुपमा रहेको यो प्रदेश, मानवशास्त्र, प्राकृतिक श्रोत व्यवस्थापन, भौगर्विक शास्त्र, कलाशास्त्र, सूचना तथा प्रविधीक, जडीवुटी, पर्यटन तथा पत्रकारीता जस्ता विषयका शिक्षाको एशियन हव वनाउन सक्नु पर्दछ । यदि शैक्षिक गन्तव्यस्थलको रुपमा विकास भयो भने मात्रै यस प्रदेशमा गुणस्तरीय र क्षमतावान पर्यटक आगमन हुन सक्दछ । विगत एक वर्षलाई स्वतन्त्रतापूर्वक मुल्याँकन गर्ने हो भने प्रदेसले लिक परिवर्तन गर्न पर्ने देखिन्छ ।
दक्ष जनशक्तिले मात्रै सवै उत्पादनलाई पर्यटकीय वस्तुहरुमा रुपान्तरण गरेर आकर्षक रुपमा प्रस्तुत गर्न सक्दछन् र गुणस्तरीय पर्यटन व्यवसाय प्रवर्धन हुन सक्दछ । स्मरण रहोस पर्यटन भनेको भौतिक पूर्वाधार भन्दा वढी प्रस्तुती र विश्वास हो । जव यस प्रदेसमा आउने पर्यटकले पनि फलोरिडा, सिंगापुर तथा स्विजरल्यैण्डको जस्तो सम्मान तथा वैद्धिक आथित्यता पाउदछन् तवमात्र क्षमतावान र गुणस्तरीय पर्यटकको रोजाईमा कर्णालीप्रदैस आउनेछन् । सरकारी स्तरवाट अपनाउन पर्ने गुणस्तरका साथसाथै यहाँको समग्र समाजमा पर्यटन सँस्कृतिको वैज्ञानीकरण यहाँको पर्यटन विकासको अदृश्य तत्व हो ।
जडीवुटी तथा कृषि उपजको उत्पादन तथा उद्यमशिलता यहाँको अर्को अवसर हो । समग्र प्रदेशलाई उच्च मुल्य प्रजातीका जैविक वस्तु उत्पादन क्षेत्रको रुपमा विकास गर्न यहाँका सवै जनतामा उच्च स्तरको वैज्ञानीक चेतना आवश्यक छ । प्रत्येक व्यक्तिको उत्पादन तथा व्यवसायिक योजनामा आधारीत रहेर उत्पादनमा संलग्न हुन पर्दछ । प्राविधीक, उद्यम तथा वजारीकरणमा सबै क्षेत्रमा किसानलाई विज्ञ वनाएर आवश्यक पर्ने भौतिक पूर्वाधारमा सरकारले लगानी गर्नु पर्दछ । स्मरण रहोस् ज्ञान विनाको भौतिक पूर्वाधार भ्रष्टचारका श्रोतहरु हुन । त्यसकारण विकासको नयाँ मोडललाई अनुसरण गर्ने हिम्मत गर्न सक्नु पर्दछ । यस सन्दर्भमा अल्वर्ट आन्सटाइनको भनेको भनाइ वारम्वार उही काम गरेर फरक परिणामाको आश गर्नु पागलपन हो भन्ने भनाई निकै सान्र्दभिक हुन्छ । देश अहिले पूँजीवादको चपेटामा छ र अधिकाँश स्थानीय, प्रादेसीक तथा सिंगो सरकार सञ्चालनका सारथी रुपमा रहेको कर्मचारी तन्त्र समाजवादी भन्दा पूँजीवादी व्यवस्थापवाट प्रशिक्षित समुह छ । यस्तो अवस्थामा देशलाई समाजवादी मार्गमा डोर्याउन राजनीतिक नेतृत्वले उच्च कल्पनशिलता सहितको समाजवादी दृष्टिकोण अपनाउन जरुरी छ । परिवर्तित अवस्थामा समाजवादको प्रारुपको नमूना तयार गर्न व्यापक छलफल र परामर्श गरेर प्रदेस विशिष्टको नमूना तयार गरी समाजवाद उन्मुख समाज निर्माण गर्ने जनशक्तिमा आधारीत योजना तुर्जमा गरेर कार्यान्वयन गर्न परमपरागत विकास मोडललाई तिलाञ्जली दिदै नयाँ विकास मोडल तयार गर्ने हिम्मत गर्नु पर्दछ । विकासको नयाँ मोडलमा समग्र कर्मचारीहरु, जननिवार्चित जनप्रतिनिधीहरु, नागरीक समाजका प्रतिनिधीहरु तथा उद्योगी तथा व्यापारीहरुलाई प्रशिक्षित गर्नु पर्दछ । जनताको दक्षतालाई केन्द्रविन्दुमा राखेर विकास निर्माणका गतिविधिलाई सञ्चालन गर्ने हिम्मत देखायो भने यो प्रदेशले विकासमा नयाँ नमुना प्रस्तुत गर्न सक्नेकुरामा दुई मत छैन । समय छँदै सरकारले विकासको नयाँ मोडल निर्माण गर्न सकोस्, अग्रगामी सोच र कार्यको लागि प्रदेस सरकारलाई शुभकामना ।

(डा. लामिछाने ईस्टर्न रिसर्च ईन्स्टिच्युट अफ पोजिटिभ साईन्सको प्रमुख कार्यकारी अधिकृत हुनुहुन्छ)