निजामती कर्मचारीको भत्ता कटौती

काठमाण्डाैं, २८ वैशाख (अन्नपुर्ण पोष्ट) । सरकारले कर्मचारीले पाउने महँगी भत्ता र स्थानीय भत्ताबाहेक सबै प्रकारका भत्ता कटौती गरेको छ । कर्मचारीका विविध भत्तामा मात्रै वार्षिक अर्बौं रुपैयाँ खर्च भए पनि उपलब्धि नभएको ठहर गर्दै महँगी र स्थानीयबाहेक सबै भत्ता कटौती गर्ने निर्णय गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता विनोदबहादुर कुँवरले जानकारी दिनुभयो ।
आगामी साउन १ देखि लागू हुने गरी प्रोत्साहन भत्ता कटौती गरिएको छ । अर्थ मन्त्रालयले तयार पारेको सार्वजनिक खर्चमा मितव्ययिता र प्रभावकारिता कायम गर्नेसम्बन्धी मार्गदर्शनलाई स्वीकृत गर्दै सरकारले जथाभावी खर्च र भत्तामा अंकुश लगाएको हो ।
अनुगमन तथा मूल्यांकनमा गरिने खर्चसमेत कटौती गरिएको छ । आर्थिक २०७३/७४ मा मात्रै कर्मचारीले भत्ताबाहेक अतिरिक्त सुविधामा २२ अर्ब रकम सकेका छन् ।
उच्चपदस्थ कर्मचारीको स्वदेश तथा विदेश भ्रमणमा मात्रै गत वर्ष दुई अर्ब २० करोड रुपैयाँ सकिएको थियो ।
यो अघिल्लो आर्थिक वर्षको तुलनामा १२३ दशमलव ७६ प्रतिशतले बढी हो । कतिपय निकायका कर्मचारीले तलवको शतप्रतिशतसम्म प्रोत्साहन भत्ता खाँदै आएका थिए ।