सुर्खेत, १८ मंसिर (जागरण) । अपाङ्गता भएका व्यक्तिहरुको लागि तिनवटै तहका सरकारहरुले स्वरोजगारमुखी कार्यक्रम संचालन गरी रोजगारीको ग्यारेन्टी गर्न कर्णालीका अपाङ्गता भएका व्यक्तीहरुले माग गरेका छन् । राज्यले अपाङ्गता भएका व्यक्तिहरुप्रति गम्भिर नभएको बताएका हुन् ।
अपाङगता पुर्नस्थापना केन्द्र भेरिगंगा सुर्खेतका अध्यक्ष समेत रहनुभएका टेकबहादुर वरले राज्यले अपाङ्गता भएका व्यक्तिहरुका लागि अपाङ्गतामैत्री संरचनाहरु बनाउनुपर्ने भन्दै आफुहरुलाई रोजगारीको ग्यारेण्टि सरकारले गरिदिनुपर्ने माग गर्नुभयो ।
उहाँले अपाङ्गता भएका व्यक्तीहरुलाई समाजमा गरिने व्यवहार फेरिन नसकेको भन्दै अब यस तर्फ तीनवटै सरकारले ध्यान दिन आवश्यक रहेको बताउनुभयो ।
यता, कर्णाली प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले गत आर्थिक बर्षमा कर्णाली प्रदेशका ३१ जना अपाङ्गता भएका व्यक्तिहरुलाई उच्च शिक्षा अध्ययनका अधिकतम बार्षिक २४ हजार सम्म छात्रवृति प्रदान गरिएको जानकारी दिएको छ ।
एक सय ४० जना अपाङ्गता भएकाहरुलाई सिप विकास तालिम मार्फत व्यावसायीक दक्षता हासिंल गरेको मन्त्रालयले बताएको छ ।
यस्तै, दलित अपाङ्गता तथा विपन्न गरि ३ हजार ३ सय ६३ जनालाई सीपमुलक तालिम तथा सीपजन्य सामाग्री वितरण गरिएको जानकारी दिदै मन्त्रालयकी सामाजिक शुरक्षा तथा महिला विकास शाखा अधिकृत सुनिता केसीले यो बर्षपनि स्वरोजगारमुलक कार्यक्रम संचालन गरिने कर्णाली रैबारलाई बताउनुभयो ।
उहाँले सुर्खेत बाहेक नौ ओटै जिल्लाहरुका सामाजिक विकास कार्यालयहरु सञ्चालन भइसकेकाले विभिन्न संघसंस्थाहरुसँगको समन्वयमा कार्यक्रमहरु सञ्चालन गरिने योजना रहेको बताउनुभयो ।
अहिले राज्यले १० प्रकारका अपाङ्गता भएका व्यक्तीहरुको श्रेणीकरण गरेको छ । अपाङ्गता भएका व्यक्तीहरुको श्रेणीअनुसार शिक्षा, स्वास्थ्य र रोजगारी सृजना गर्न प्रदेश सरकारले योजना बनाइरहेको केसीको भनाई छ ।
२०६८ को जनगणना अनुसार नेपालको कुल जनसँख्या मध्ये ५ लाख व्यक्ति कुनै न कुनै प्रकारको अपाङ्गता रहेको सरकारी तथ्याङ्क छ ।