मोदीलाई चारघेरे सुरक्षा

काठमाण्डौं, २८ वैशाख (कान्तिपुर) । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सुरक्षा चार घेरामा गरिने भएको छ । भारतीय विशेष कमान्डो टोली, नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीसहितको चारघेरे सुरक्षा व्यवस्था मिलाइएको हो ।
पहिलो घेरामा भारतीय सुरक्षाको विशेष कमान्डो टोली र निजी अंगरक्षक, दोस्रो घेरामा नेपाली सेना र नेपाल प्रहरीको विशेष युनिट, तेस्रो घेरामा सशस्त्र प्रहरी र नेपाल प्रहरी तथा सबभन्दा बाहिरी घेरामा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका गुप्तचर परिचालन गरिनेछ ।

जनकपुरमा बिहीबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको कारगेड सुरक्षाको ‘डेमो’ गरिँदै । तस्बिर : किरण पाण्डे

मोदीको सुरक्षाका निम्ति भारतबाट मात्रै विशेष कमान्डो टोलीका ८६ जना नेपाल आएका छन् । तीमध्ये १५ जना मुस्ताङ भ्रमणको सुरक्षामा खटिनेछन् भने २५ जना जनकपुर र अन्य काठमाडौंमा खटिनेछन् । विशेष कमान्डो टोलीसँग नेपाली सेना र नेपाल प्रहरीले समन्वय गर्नेछन् । मोदीको सवारीमा भारतबाटै ल्याइएका दुईवटा बुलेटप्रुफ गाडी प्रयोग गरिनेछ ।
स्रोतका अनुसार जनकपुरमा मात्रै नेपाल प्रहरी, सशस्त्र र नेपाली सेनाबाट गरी करिब ५ हजार सुरक्षाकर्मी परिचालन हुनेछन् भने राष्ट्रिय अनुसन्धान विभागबाट ५० जनाभन्दा बढी गुप्तचर खटिनेछन् । नेपाल प्रहरीले जनकपुरमा ३३ सय जनशक्ति सुरक्षाका निम्ति खटाउँदै थप मद्दतका लागि प्रहरीलाई स्ट्यान्डबाई राख्ने भएको छ । स्रोतका अनुसार जनकपुर भ्रमणभरि नेपाली सेनाको हेलिकप्टरले रेकी उडान गर्नेछ ।
काठमाडौंमा महानगरीय अपराध महाशाखाले सादा पोसाकका सुरक्षाकर्मी परिचालन गर्नेछ । महाशाखा स्रोतका अनुसार भ्रमण क्षेत्रको सबै चोकमा सादा पोसाकमा सुरक्षाकर्मी परिचालन गरिएको छ । प्रहरीको सुरक्षा समन्वयको पाटो भने महानगरीय प्रहरी कार्यालयले गर्नेछ । स्रोतका अनुसार प्रहरी प्रधान कार्यालयका उच्च अधिकारी सुरक्षा व्यवस्थापनमा प्रत्यक्ष खटिनेछन् ।
मोदीको सुरक्षाका निम्ति नेपाल प्रहरीले काठमाडौंमा दुई र जनकपुरमा एउटा जामर प्रयोग गर्नेछ । जामरले भारतीय प्रधानमन्त्री रहने स्थानको पाँच सय मिटरसम्म मोबाइल फ्रिक्वेन्सी नियन्त्रण गर्छ । प्रहरीले भ्रमणस्थलको सुरक्षाका निम्र्ति यापिड कम्युनिकेसन सिस्टम प्रयोगमा ल्याउने भएको छ ।
यसले कार्यक्रमस्थलको भिडियो रियल टाइममा खिचेर एकीकृत कमान्ड सेन्टरमा पठाउँछ । मोबाइलभन्दा ठूलो आकारमा रहने क्यामेराजडित यस्तो उपकरण जनकपुरमा मात्रै ५० वटा प्रयोग गरिनेछ । पचास फरक–फरक स्थानबाट एकैचोटि लाइभ भिडियो कमान्ड सेन्टरमा पुग्ने र त्यो भिडियो अवलोकन गरेर थप निर्देशन दिने व्यवस्था मिलाइएको प्रहरीले जनाएको छ ।
जनकपुर र काठमाडौं दुवै स्थानमा चल्ने गाडीको लाइसेन्स नम्बर स्क्यानिङ गर्न सक्ने उपकरणसमेत प्रयोग गरिनेछ । काठमाडौंमा मोदी बस्ने चुच्चेपाटीको हायात होटल र भेटघाटस्थलको रूपमा रहने बत्तीसपुतलीको होटल द्वारिकाजमा भेहिकल स्क्यानर मेसिन राख्न लागिएको हो । सुरक्षा व्यवस्थालाई थप चुस्त पार्न प्रहरीले जनकपुरमा डिजिटल वाकीटाकी प्रयोगमा ल्याउने भएको छ ।
प्रहरीले प्रयोग गरिरहेको वाकीटकी एनालग सिस्टममा छ भने मोदीको सुरक्षामा प्रयोग गरिने वाकीटाकी डिजिटल सिस्टममा आधारित हुनेछ । जसले सुरक्षाकर्मीबीचको कुराकानी इन्कोडेड गरेर राख्छ । त्यस्तै जनकपुरको कार्यक्रम स्थलमा दस र काठमाडौंमा दसवटा ‘डिजिटल वाक थ्रु गेट’ रहनेछन् । प्रहरीले सुरक्षाका निम्ति एक सयभन्दा धेरै मेटल डिटेक्टरसमेत प्रयोग गर्नेछ ।
जनकपुरमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको एकीकृत कमान्ड केन्द्र रहनेछ । जहाँ बसेर उच्च सुरक्षा अधिकारीहरूले सुरक्षा प्रणालीको समन्वय र निर्देशन गर्नेछन् ।
नेपाली सेनाका प्रवक्ता सहायक रथी गोकुल भण्डारीका अनुसार एकीकृत रूपमा सुरक्षामा कुनै कमी–कमजोरी नआउने गरी भीभीआईपीको सुरक्षा व्यवस्था मिलाइएको छ । जनकपुर, मुक्तिनाथ, काठमाडौंसहित तीनै ठाउँको सुरक्षालाई नेपाली सेनाको फरक–फरक एकीकृत सुरक्षा सेलले समन्वय गर्नेछन् । उहाँले भन्नुभयो, ‘सुरक्षामा कुनै सम्झौता गरिएको छैन ।’