शहर केन्द्रीत अभियानहरुले महिला हिंसा अन्त्य हुँदैनः सरोकारवाला

कृति सुबेदी
सुर्खेत, २५ मंसिर (जागरण) । महिला अधिकारसम्बन्धी काम गर्ने सरकोकारवालाहरुले महिला हिंसा विरुद्धका अभियानहरु शहर केन्द्रीत भएको भन्दै यसले हिंसा अन्त्य नहुने बताएका छन् ।
सामाजिक विकास मन्त्रालयको आयोजनामा आज राजधानी सुर्खेतमा भएको महिला हिंसा विषयक अन्तरक्रिया कार्यक्रममा सहभागि उनिहरुले यस्तो बताएका हुन् ।
उनिहरुले ग्रामीण क्षेत्रमा महिलाहरुमाथी विभिन्न हिंसाहरु हुने गरेको भन्दै यस्ता अभियानहरु शहरमा मात्र केन्द्रीत गर्न नहुनेमा जोड दिएका हुन् ।
कार्यक्रममा बोल्दै सुमना खड्काले महिला हिंसा रोक्न सचेतनामुलक कार्यक्रमलाई प्रभावकारी बनाउन सुझाव दिनुभयो । उहाले विशेषगरी अपाङ्गता भएका महिलाहरु धेरै हिंसामा पर्ने गरेको बताउनुभयो ।
उहाले समान ढङ्गले सचेतनामुलक कार्यक्रमहरु सबै ग्रामीण क्षेत्रसम्म गरिनुपर्नेमा जोड दिनुभयो ।
यस्तै, विगतका बर्षहरुमा महिलाहरु आफुमाथी हुने हिंसाका बारेमा लुकाएर बस्ने गरेको भएपनि पछिल्लो समय चेतनाको स्तर माथी उठेको पाइएको छ ।
चालु आर्थिक बर्षको मंसिर महिनासम्म २ सय ७१ महिला हिंसा सम्बन्धी मुद्धा दर्ता भएको प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी निरिक्षक शंकर श्रेष्ठले बताउनुभयो ।

उहाँका अनुसार गत आर्थिक बर्ष २०७४÷०७५ मा ८ सय ५५ र ०७५÷०७६ मा ८ सय ५८ मुद्धा दर्ता भएका छन् ।
यो तिनवटा आर्थिक बर्षको तथ्याङ्कलाई विश्लेषण गर्दा हिंसामा परेका महिलाहरु खुलेर प्रहरीसम्म पुग्ने गरेका छन् ।
१६ दिने अभियान संचालन भइरहदा समेत ३२ वटा बिभिन्न हिंसाका घटना भएको पाइएको छ । ति मध्य महिला हिंसाका घटना २९ वटा महिलासँग सम्बन्धीत हिंसाका उजुरी दर्ता भएको श्रेष्ठले बताउनुभयो ।