वीरेन्द्रचोक भत्काएर पानीको फोहोरा बनाईने, स्थानीय स्तरमा विरोध

सुर्खेत, २९ वैशाख (जागरण) । कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगनर नगरपालिकाले मुख्यबजारमा रहेको वीरेन्द्रचोक डोजर लगाएर भत्काउन थालेको छ ।
नगरपालिकाले पूर्वराजा वीरेन्द्रको सालिक रहेको स्थानमा पानीको फोहोरा राख्ने गरी विहीबार राति चोकमा डोजर लगाएर हटाउन थालिएको हो ।
२०६२÷६३ को जनआन्दोलनमा क्षति पुगेको वीरेन्द्रको सालिकले नगरको सुन्दरता बिगारेकाले यो ठाउँलाई आकर्षक बनाउने काम थालिएको नगरपालिकाले जनाएको छ ।
नाम कहलिएको वीरेन्द्रचोक भत्काउन थालेपछि स्थानीयस्तरबाट चर्को विरोध भएको छ । सामाजिक सञ्जालदेखि लिएर चौक चौकमा वीरेन्द्रचोक भत्काईएकोमा नागरिकहरुले विरोध गरेका हुन् ।
नगरपालिकाका वरिष्ठ प्रशासकीय अधिकृत प्रकाश पौडेलले पछि सबैको सहमति भएमा वीरेन्द्रको सालिक राखेर पनि निर्माण गर्न सकिने बताउनुभयो । तर अहिलेको डिजाईनमा भने सालिक नराखिएको उहाँको भनाई छ ।
स्थानीय युवाहरु ललित भट्टराई, चिन्तामणि शर्मा लगायतले भने वीरेन्द्रनगरको इतिहास जोगाउनका लागि त्यस स्थानमा वीरेन्द्रकै सालिक राख्न माग गर्दै हस्ताक्षर संकलन सुरु गरेका छन् ।