शंकर केसी
सल्यान, २६ मंसिर (रेडियो कपुरकोट) । सल्यानका एक किसानले उत्तीसको मुढामा च्याउ फलाउनुभएको छ । कपुरकोट गाउँपालिका, ४ गााडापानीका किसान टेक बहादुर बुढाले ८ सय उत्तीसको मुढामा सिताके च्याउ फलाउनुभएको हो । उत्तीसको मुढामा च्याउ खेती गरेर उहाँले आम्दानी बढाउदै लिनुभएको छ ।
२०७४ फागुनमा उत्तीसको काठ काटेर बुढाले एक हजार तयार पार्नुभएको थियो । एक–एक मिटर लम्बाइको काठलाई ४८ घण्टासम्म पानीमा भिजाएर डेढ इन्चको प्वाल पारेर च्याउको बीउ छरेको उहाले बताउनुभयो ।
तीन लाख रुपैयाँ लगानीबाट सुरु गरेको सिताके च्याउ खेती अहिले फस्टाउदै गएको उहाँले जनाउनुभयो । अहिले उत्पादन भएको च्याउ गाउँघर र स्थानीय बजारमै खपत हुने गरेको छ ।
उहाले खाडीमा युवा पैसा कमाउन नजान आग्रह गर्दै घर आँगन, पाखा पखेरीबाटै आम्दानी गर्न सुझाव दिनुभयो । उहाले अहिले मासिक ३० हजारसम्म कमाउने गर्नुभएको छ ।