चिसोका कारण देशभरको जनजिवन प्रभावित

काठमाडौं, २७ मंसिर (जागरण) । कर्णाली प्रदेशका हिमाली जिल्लाहरुमा हिमपात हुँदा जनजीवन प्रभावित भएको छ । पश्चिमी वायु प्रणालीको प्रभावले हुम्ला, मुगु, डोल्पासहित कर्णालीका उच्च हिमाली क्षेत्रमा आज बिहानबाट हिमपात शुरु भएको हो ।
हिमपातका कारण हवाई उडान बिहानबाटै प्रभावित भएको छ । हिमपातले गर्दा जिल्लाको एकमात्रै यातायात सेवा हवाइजहाज उडान बन्द रहेको सिमकोट विमानस्थल स्रोतले जानकारी दिएको छ ।
नेपालगञ्ज सुर्खेतबाट हुम्लामा उडान गर्दै आएको तारा, सीता, समिट एयरलाइन्सको उडान प्रभावित भएको छ ।
हवाई यातायात बन्द हुँदा अत्यावश्यक कामका लागि बाहिर जाने स्थानीयवासी समस्यामा परेका छन् । हिमपातका कारण नाम्खा गाउँपालिकाको लिमी ,चाला र हिल्सा आवतजावतमा कठिनाई भएको छ ।
पश्चिमी भूभागबाट न्युन चापीय प्रणालीको प्रवेश भएकाले देशैभरी चिसो बढेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।