मुख्यमन्त्री र मन्त्रीले गर्नसक्ने मात्रै बोल्नुपर्छः जनताको आवाज (अडियो सहित)

नन्द कठायत ।
सुर्खेत, २९ मंसिर (जागरण) । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले यही मंसिर १५ गते आइतबारका दिन आफ्नो सरकारका मन्त्री तथा सचिवहरुलाई राजधानी बाहिर नजान निर्देशन दिनुभयो । बजेट कार्यान्वयनमा केन्द्रीत हुन भन्दै मन्त्री र सचिवलाई अवको तीन महिना राजधानी बाहिर नजान र विदामा पनि नबस्न निर्देशन दिनुभएको हो । चौमासिक समिक्षा गोष्टीमा निर्देशन दिँदा मुख्यमन्त्रीले सक्भर राजधानीभित्रै पनि सार्वजनिक कार्यक्रमभन्दा मन्त्रालयको अन्य काममा ध्यान दिनुपर्ने बताउनुभएको थियो । तर यही निर्देशनको अवज्ञा अरु मन्त्रीहरु र मुख्यमन्त्री स्वयमले भोलीपल्टै देखि गरे । निर्देशन दिएको भोलीपल्टै अर्थात् मंसिर १६ गते सोमबारका दिन मुख्यमन्त्री आफै सुर्खेत र कालिकोटका कार्यक्रममा भाषण गर्न पुग्नुभयो । बेतन कर्णाली, फुकोट कर्णाली र भेरी बबई डाइभर्सन आयोजनाको स्थलगत निरीक्षणको क्रममा उहाँलगायत केही मन्त्रीहरु राजधानी बाहिर गएका थिए । त्यसैगरी निर्देशन दिएको पर्सीपल्ट अर्थात् मंसिर १७ गते जाजरकोट पुग्नुभयो । उहाँ मात्रै पुग्नुभएन, उहाँले आफ्नो साथमा आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालालाई पनि लिएर जाजरकोट जानुभएको छ । सक्भर राजधानीमै आयोजना हुने सार्वजनिक कार्यक्रममा भन्दा मन्त्रालयभित्रका कार्यक्रममा केन्द्रित हुन निर्देशनमा उल्लेख छ । तर एक चलचित्रको शुभमुहूर्तमा मंसिर १७ गते सामाजिक विकास मन्त्री दल रावल र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिं बुढा पुगे । कर्णाली सरकारले आफ्नै उत्पादनलाई बढाउने भन्दै जुम्ला लगायतका ठाउँमा उत्पादन गरिने राडी पाखीलाई निर्यात् गर्नेगरी कपडामा आत्मनिर्भर हुने निर्णय समेत गरेको भएपनि मंसिर २६ गते विहिबारका दिन मुख्यमन्त्री शाहीले जाजरकोटको एउटा विद्यालयमा विद्यार्थीलाई जापानमा उत्पादन भएका झोला बाँड्नुभएको छ । त्यस कार्यक्रममा सामाजिक विकास मन्त्री दल रावल, आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालालाई पनि उहाँले साथमा लिनुभएको थियो ।
यसै सन्दर्भमा हामीले आफ्नै निर्णयको उल्लघंन गर्ने कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री र मन्त्रीहरुलाई तपाईँ के भन्नु हुन्छ ? भनेर जनतालाई सोधेका छौँ । प्रस्तुत छ, जनताको आवाज जस्ताको त्यस्तैः