कर्णालीमा विदेशी प्याजको दबदबा

पंख बहादुर शाही ।
सुर्खेत, १ पुस (जागरण) । तरकारीमा मसलास्वरुप प्रयोग हुने प्याजमा कर्णाली प्रदेश आत्मनिर्भर नहुँदा विदेशी प्याजले बजार लिएको पाइएको छ । बजारको मागको अनुपातमा कर्णाली प्रदेशमा प्याज उत्पादन अत्यन्त न्यून हुँदा अहिले चीन र भारतबाट आयात भएको प्याज प्रयोग गर्न उपभोक्ता बाध्य भएका छन् ।
प्रदेशको राजधानी सुर्खेत लगायत प्रायः जिल्लामा चीन र भारतबाट ल्याइएको प्याजको कारोबार बढी भइरहेको कृषि विकास निर्देशनालय सुर्खेतले जनाएको छ । प्याज उत्पादनको पकेट क्षेत्र मानिएको रुकुम पश्चिमका पसलहरुमा पनि अहिले चीन र भारतको प्याज नै प्रयोग हुन थालेको छ ।
प्याजको उत्पादन नबढेका कारण गाउँगाउँमा पनि विदेशी प्याजको प्रयोग बढेको हो । आफूहरु महंगो मुल्यमा प्याज खरिद गर्न बाध्य भएको उपभोक्ताहरुले बताउने गरेका छन् । हिजोआज कर्णाली प्रदेशमा २ सय देखि २ सय २० रुपैयाँ प्रतिकिलोका दरले प्याजको कारोबार भइरहेको वीरेन्द्रनगरमा फलफूल तथा तरकारीको व्यापार गर्ने अञ्जु रोकायाले बताउनुभयो ।
प्याजको मूल्य बढेपछि कतिपय उपभोक्ताहरुले पनि यसको प्रयोग घटाउन थालेका छन् । वीरेन्द्रनगर नगरपालिका –१२ का भोजबहादुर खत्रीले प्याजको मुल्य बढेको भन्दै पहिलेभन्दा प्याजको प्रयोग घटाएको बताउनुभयो । उहाँले कर्णालीमा प्याज खेतीलाई प्रोत्साहन गर्न सरकारले ध्यान दिनुपर्ने सुझाव दिनुभयो ।
कर्णाली प्रदेशका रुकुम पश्चिम, दैलेख, कालिकोटका केहि भागहरुलगायत मध्यपहाडी क्षेत्रमा प्याज उत्पादनका लागि उपयुक्त वातावरण मानिन्छ ।
कर्णाली प्रदेशको कृषि विकास निर्देशनालयका वागबाणी विकास अधिकृत भक्तिराम शर्माले प्याज उत्पादनलाई बढाउन सके विदेशी प्याजलाई विस्तापित गर्न सकिने बताउनुभयो । आफूहरु उत्पादन बढाउने काममा योजना बनाएर अघि बढिरहेको उहाँले बताउनुभयो ।