‘बैंक खाता छोरीको, सुरक्षा जीवनभरीको’ शुरु, केही खुसी–केही शंका

नन्द कठायत ।
सुर्खेत, १ पुस (जागरण) । कर्णाली प्रदेश सरकारले ‘बैंक खाता छोरीको, सुरक्षा जीवनभरीको’ कार्यक्रम शुरू गरेको छ । आज कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले कालिकोटमा कार्यक्रमको उद्घाटन गर्नुभएको हो । खाँडाचक्र नगरपालिका वडानम्वर १ कालिकोटकी साढे एक महिनाकी जमुना सुनार र वडानम्वर २ कि साढे ३ महिनाकी जानकी परियारको नाममा राष्ट्रिय वाणिज्य बैंकमा खाता खोलेर कार्यक्रम शुभारम्भ भएको हो । कर्णाली प्रदेशका १० वटै जिल्लामा एकैसाथ लागू भएको कार्यक्रमबाट नागरिकमा खुसी त छाएको छ नै तर केही शंका पनि छन् ।

फोटोः सामाजिक सञ्जाल ।

समाजमा छोरी जन्माएकै कारण महिला माथि हुने हिंसा, छोरा र छोरीबीच गरिने विभेदको व्यवहार अब केही कम हुने अपेक्षा गर्नुहुन्छ वीरेन्द्रनगर नगरपालिका १२ सुर्खेतकी सल्मा विवि ।
गत साउन १ गते र त्यसपछि जन्मिएका छोरीको नाममा बैँक खाता खोलेर प्रदेश सरकारले पहिलो महिना एक हजार र दोस्रो महिनादेखि पाँच सयका दरले २० वर्षसम्म जम्मा गरिदिने छ ।
यो कार्यक्रमप्रति धेरै नागरिकहरुले खुसी व्यक्त गरेका छन् तर केही शंका र चिन्ता पनि छ । प्रदेशमा घोषणा गरिएका कतिपय कार्यक्रमहरु कार्यान्वयन नभएको भन्दै यो पनि त्यस्तै त हुने होइन भन्ने शंका व्यक्त गर्नुहुन्छ, दैलेखकी निर्मला पोखरेल ।
एक दम्पत्तीबाट जन्मिएका दुई जना छोरीको हकमा यो लागू हुने छ । यसैगरी छोरीले अध्ययन गरिरहेको र बालविवाह नभएको भएमा मात्र यो कार्यक्रमबाट रकम जम्मा गरिने प्रदेश सरकारले जनाएको छ । यो कार्यक्रमले धेरै विषयवस्तुमा प्रभाव पार्छ । छोरा र छोरीबीचको विभेद अन्त्य, घरेलु हिंसाको अन्त्य, बाल विवाह अन्त्य र छोरीलाई शिक्षामा आकर्षित गर्न यो कार्यक्रमले प्रभाव पार्ने मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयका सुचना तथा सञ्चार समन्वय शाखाका शाखा अधिकृत केशव उपाध्यायले बताउनुभयो ।

सुन्नुहोस् अडियो रिपोर्टः