जनप्रतिनिधि कक्षामा छिरेपछि…

सुर्खेत, ३ पुस (जागरण) । आधारभूत तहमा कर्णाली प्रदेशकै सवैभन्दा धेरै विद्यार्थी रहेको सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाका वडानम्वर १२ स्थित हस्तवीर सामुदायिक आधारभूत विद्यालयमा पठनपाठनको कार्य चलिरहेको थियो । शिक्षकहरु आफ्नो कर्ममा लागेका थिए भने विद्यार्थीहरु शिक्षककै कामलाई नै पच्छ्याइरहेका थिए । केही अभिभावक आफ्ना छोराछोरीको पठनपाठनबारे बुझ्न विद्यालयमै आएका ।

त्यति नै बेला टुप्लुक्क कक्षा कोठामै पुग्नुभयो, वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख मोहनमाया ढकाल । उहाँसँगै हुनुहुन्थ्यो, वीरेन्द्रनगर नगरपालिका वडानम्वर १२ का अध्यक्ष लोकप्रसाद चालिसे, नगरपालिकाको सामाजिक विकास समिति संयोजक यमुना नेपाली र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पूर्ण प्रसाद पौड्याल । केहीबेर विद्यार्थी र शिक्षक अलमलमा परे । एकले अर्कालाई हेरे पनि ।


उपप्रमुख ढकालले नआत्तिएर पठनपाठन गर्न विद्यार्थी र शिक्षकलाई आश्वस्त पार्नुभयो र भन्नुभयो, ‘तपाईहरुले कसरी पढिरहनुभएको छ ?, कसरी पढाइरहनुभएको छ ?, विद्यालयको अवस्था के छ ? भनेर हेर्न आएँ म त ।’


त्यति नै बेला विद्यालयका प्रधानाध्यापक धनबहादुर ढेंगामगर सहित केही कर्मचारी र विद्यालय व्यवस्थापन समितिका सदस्यहरुले जनप्रतिनिधिहरुलाई स्वागत गरे ।


बाल विकासदेखि कक्षा ६ सम्म सञ्चालन गरिएको हस्तवीरमा पाँच सय ९ जना विद्यार्थीले अध्ययन गरिरहेका छन् । विशेषगरी इत्राम खोला आसपासका सुकुम्बासी समुदायका बालबालिकाले पढ्ने र प्रदेशकै धेरै विद्यार्थी भएको विद्यालय भएकाले आफूहरुले अनुगमन गरेको उपप्रमुख ढकालले बताउनुभयो ।
जनप्रतिनिधिहरुले विद्यालयभित्रको पठनपाठन, विद्यार्थीको बसाई व्यवस्थापन, भौतिक संरचना लगायतको अनुगमन गरेका छन् ।


अनुगमनपछि भएको छलफलमा विद्यालयको बाल क्लवका सचिव कक्षा ६ का विद्यार्थी रत्न बहादुर बुढाले आफूहरुलाई कम्प्यूटर कक्षा अध्ययन गर्ने भवन नभएकाले सहयोग गर्न जनप्रतिनिधिहरुसँग माग गर्नुभयो ।
अहिले कम्प्यूटर ल्याव राख्ने ठाउँ नहुँदा कम्प्यूटर विषय पढ्दा अभ्यास गर्न नपाइएको उहाँले गुनासो गर्नुभयो । त्यसलगत्तै वडाअध्यक्ष चालिसेले विद्यार्थीको चापअनुसार भौतिक संरचना निर्माण गर्न स्थानिय सरकारले पहल गर्ने बताउनुभयो ।
छलफलका क्रममा उपप्रमुख ढकालले विद्यालयलाई भौतिक संरचनामा परिपक्व बनाउन आफूहरुले सहयोग गर्ने बताउनुभयो ।


यसैबीच, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पौड्यालले अर्को शैक्षिक सत्रदेखि कक्षा ७ र र त्यसपछि कक्षा ८ पनि सञ्चालन गर्नेगरी तयारी भएको बताउनुभयो ।