मोदीको भ्रमणबारे १६ बुँदे संयुक्त विज्ञप्ति जारी

काठमाण्डौं, २९ वैशाख (जागरण) । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणबारे १५ बुँदे संयुक्त प्रेस विज्ञप्ति जारी भएको छ । मोदी स्वदेश फिर्ता भइसकेपछि परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गरेको हो ।
विज्ञप्तिमा दुई देशबीच विभिन्न क्षेत्रको विकासका लागि सहयोग र सहकार्यबारे छलफल भएको उल्लेख छ । मोदीले ओलीलाई फेरि भारत भ्रमणको निम्तो दिनुभएको छ ।
नेपालको दुईदिने भ्रमणका क्रममा शुक्रबार आउनुएका भारतीय प्रधानमन्त्री मोदी शनिबार अपराह्न स्वदेश फर्किनुभएको छ । भ्रमणका क्रममा उहाँलाई जनकपुर र काठमाडौंमा अभिनन्दन गरिएको थियो ।
वक्तव्यका प्रमुख बुँदाहरु–
-वैशाख २८ गते दुवै देशका प्रतिनिधिमण्डलसहित भेटवार्ता, द्विपक्षीय घनिष्ट सम्बन्ध र समझदारीका बारेमा छलफल भयो ।

-प्रधानमन्त्री ओलीको दिल्ली भ्रमणका क्रममा भएका सबै सन्धि–सम्झौताको कार्यान्वयन, जलमार्ग, कृषि, रेलमार्ग आदिमा जोड दिइएको छ । —समानता, आपसी हित, सम्मान र फाइदाको नीतिका आधारमा सामाजिक–आर्थिक विकासको साझेदारीका क्षेत्रमा द्वीपक्षीय सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने समझदारी भएको छ ।

-सामाजिक–आर्थिक विकास परियोजना तथा द्वीपक्षीय सम्बन्धको समीक्षाका लागि परराष्ट्र मन्त्रालयमा मन्त्रीस्तरीय नेपाल–भारत संयुक्त आयोग लगायतका द्वीपक्षीय संयन्त्रको निरन्तर स्थापनामा जोड दिइएको छ ।

-भारतसँगको बढदो व्यापार घाटाको मुद्दा समाधानका लागि व्यापार तथा आर्थिक साझेदारीमा जोड दिइएको छ ।

-व्यापार, पारवहन तथा सहकार्यका लागि भर्खरै भएको अन्तर सरकार समिति बैठकको स्वागत, भारतीय बजारमा नेपाली उत्पादनको सहज प्रवेशका लागि द्वीपक्षीय व्यापार, पारवहन सन्धी पुनरावलोकनमा जोड दिइएको छ ।

-आवागमन र व्यापारका लागि आवश्यक पर्ने हवाई, जल र स्थलमार्गमा दुवै देशको आवद्धता हुने ।

-आपसी हितका लागि जलसम्बन्धी नदी, डुबान, बाढी व्यवस्थापन तथा सिंचाइको क्षेत्रमा सहकार्यको आवश्यकता महसुस गरिएको छ ।

-९०० मगोवाट क्षमताको अरुण तेस्रो परियोजनाको संयुक्त शिलान्यास भएको छ र यसको उत्पादनले दुइ देशबीचको उर्जा उत्पादन र व्यापारको साझेदारीमा सहयोग पुग्ने विश्वास लिइएको छ ।

-गएको अप्रिल महिनामा गठन भएको उर्जासम्बन्धी संयुक्त सञ्चालन समितिको बैठकको स्वागत गर्दै द्विपक्षीय उर्जा व्यापार सम्झौताका माध्यमबाट उर्जा सम्बन्धि द्विपक्षीय साझेदारी बढाइनेछ ।

-धार्मिक र सांस्कृतिक आवद्धताका लागि जनकपुरलाई नेपाल–भारत रामायण सर्किटमा जोड्दै जनकपुर–अयोध्या सीधा बस सेवाको उद्घाटन । –साकर्, बिमस्टेक, बिबिआईएन लगायतका क्षेत्रीय र उपक्षेत्रीय संगठनको महत्वलाई बढावा दिइनेछ ।

-भारतीय प्रधानमन्त्री मोदीको तेस्रो भ्रमणले दुइ देशबीचको प्राचिन सम्बन्धलाई अझ प्रगाढ बनाएकोे निष्कर्ष छ ।

-भारतीय प्रधानमन्त्री मोदीद्वारा प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारत भ्रमणको निम्तो, ओलीद्वारा स्वीकार, मिति तय पछि गरिने ।