सुर्खेत, ५ पुस (जागरण) । सरकारको नीतिअनुसार सुर्खेत जिल्लामा पुस २६ गते बहुउद्देश्यीय सहकारी एकिकरणको पहिलो औपचारिक घोषणा हुने भएको छ ।
जागरण बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड र हातेमालो महिला बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडबीच एकिकरणपछि बन्ने सहकारीको संयुक्त विशेष साधारणसभा पुस २६ गते हुने भएको हो ।
दुई सहकारीले बनाएको संयुक्त कार्यदलले सहकारीको विनियम टुङ्गो लगाई दुवै कार्यसमितिबाट अनुमोदन समेत भइसकेकाले अव विशेष साधारणसभा बोलाइएको हातेमालो महिला बहुउद्देश्यीय सहकारी संस्थाकी अध्यक्ष सावित्रा पौडेल सुवेदीले बताउनुभयो ।
एकिकरणपछि बन्ने सहकारीको नाम हातेमालो जागरण बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड रहनेगरी साधारणसभामा प्रस्ताव पेश गर्ने दुवै सहकारीका कार्यसमितिको संयुक्त बैठकबाट टुङ्ग्याइएको छ ।
दुवै कार्यसमितिको संयुक्त बैठकले साधारणसभाका लागि तयारी समिति समेत गठन भएको जागरण बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष पूर्ण प्रसाद पौड्यालले जानकारी दिनुभयो ।