भनसुनका आधारमा अपराधीलाई नछाड्न प्रहरीलाई सुझाव

सुर्खेत, २९ वैशाख (जागरण) । समाजमा भइरहेका तर बाहिर आउन नसकेका अपराधिक क्रियाकलाप प्रति ध्यान दिन सुर्खेत प्रहरीलाई नागरिकहरुले सुझाव दिएका छन् ।
वीरेन्द्रनगरमा भएको नागरिक सुनुवाई कार्यक्रममा जनप्रतिनिधी, व्यवसायी, राजनितिक दललगायत अन्य नागरिकहरुले जिल्ला प्रहरी कार्यालय सुर्खेतलाई यस्तो सुझाव दिएका हुन् ।
पछिल्लो समय सुर्खेतको सुरक्षा अवस्था चुनौतिपुर्ण रहेको भन्दै उनीहरुले प्रहरी र नागरिक समाज सबै एक भएर यसतर्फ ध्यान दिनुपर्ने बताएका छन् । 
कार्यक्रममा सहभागीहरुले भनसुनका आधारमा अपराधीलाई कारवाही गरिँदैन भन्ने गुनासोप्रति पनि प्रहरीलाई गम्भीर हुन सुझाव दिएका छन् । साथै उनीहरुले ट्राफिक नियम पालना नगर्नेलाई पनि तत्काल कारवाही गर्न अाग्रह गरेका थिए । यस्तै सहभागीले सार्वजनिक स्थलमा प्रहरी विट चाँडै स्थापना गर्न पनि प्रहरी प्रशासनकाे ध्यानाकर्षण गराएका छन् ।
कार्यक्रममा बोल्दै सहभागी रमेश पौडेलले समाजमा धेरै अपराधहरु लुकेर रहेको भन्दै प्रहरीको ध्यानाकर्षण गराउनुभयो ।
यस्तै, वीरेन्द्रनगर नगरपालिका १२ का वडा सदस्य चन्द्रा धामीले आफ्नो गाउँ नजिक प्रहरी विट मात्रै स्थापना भएको तर प्रहरी नभएको जानकारी दिनुभयो । त्यहाँ हुने घटनाप्रति पनि प्रहरी प्रशासनको ध्यान जानुपर्ने उहाँले बताउनुभयो ।
युवा नेता तोरण विकले जनशक्तिको अभाव छ भन्दै प्रहरी प्रशासन पन्छिन नपाउने बताउनुभयो । उहाँले जनशक्तिको कमी छ भने सम्बन्धित निकायमा पहल गर्न पनि सुझाव दिनुभयो ।
कार्यक्रममा बोल्दै राजनितीक दलका प्रतिनिधीहरुले पनि जिल्ला शान्ती सुरक्षाका लागि आफूहरुको साथ सधैँ प्रहरीलाई रहने प्रतिवद्धता जनाएका छन् ।
यस्तै, प्रमुख जिल्ला अधिकारी सीताराम कार्कीले शान्ती सुरक्षा मजबुत बनाउनका लागि नागरिकको साथ अत्यावश्यक रहेको बताउनुभयो । सिमीत स्रोत साधनका बाबजुत पनि काम गर्नुपर्ने भएकाले यसमा सबैको सहयोगको खाँचो उहाँले औँल्याउनुभयो ।
कार्यक्रममा बोल्दै प्रहरी उपरिक्षक एसपी उमाप्रसाद चतुर्वेदीले न्याय सम्पादन गर्ने क्रममा कहीँ पनि भनसुनका आधारमा काम नगरिएको स्पष्ट पार्नुभयो । साथै उहाँले अपराध नियन्त्रणमा आफूहरु संवेदनशील भएको भन्दै कोही कसैलाई पनि छुट नदिने दाबी गर्नुभयो ।

यसैबिच, सुर्खेतमा झुण्डिएर आत्महत्या गर्नेहरुको अवस्था भयावह रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
कार्यालयका अनुसार चालु आर्थिक वर्षको अहिलेसम्म ५२ जनाले झुण्डिएर आत्महत्या गरेका छन् । यस्तै, १५ जनाले विष सेवन गरी आत्महत्या गरेको प्रहरी उपरिक्षक उमाप्रसाद चुतुर्वेदीले जानकारी दिनुभयो ।
त्यसैगरी यो आर्थिक वर्षमा १ सय ३१ वटा सार्वजनि अपराधसम्बन्धी मुद्दा कार्यालयमा दर्ता भएको उहाँले जानकारी दिनुभयो ।
चालु आर्थिक वर्षको अहिलेसम्म ११ वटा वहुविवाहको मुद्दा कार्यालयमा दर्ता भएको पनि एसपी चतुर्वेदीले बताउनुभयो ।
उहाँका अनुसार लागु औषधसम्बन्धी २४ वटा, जबरजस्ती करणीसम्बन्धी १५ वटा मुद्दा दर्ता भएका छन् ।
सुर्खेत प्रहरीले जिल्लामा शान्ती सुरक्षा कायम गर्नका लागि गाउँ गाउँमा पुगेर सचेतनामुलक कार्यक्रम गर्ने, प्रहरीको गस्ती परिचालन गर्नेलगायतका काम गरिरहेको छ ।
प्रहरीको कार्यालयले प्रत्येक तीन तीन महिनामा नागरिक सुनुवाई गरेर आफूहरुले गरिरहेको काम र आगामी योजनाको बारेमा जानकारी दिँदै आएको छ ।