चन्द समूहको अपहरणमा परेका दैलेखको ठाँटीकाँध गाउँपालिकाका अध्यक्ष शाही अपहरणमुक्त

दैलेख, ७ पुस (जागरण) । नेत्रबिक्रम चन्द समूहको अपहरणमा परेका दैलेखको ठाँटीकाँध गाउँपालिकाका अध्यक्ष धीरबहादुर शाही अपहरणमुक्त हुनुभएको छ ।
उहालाई चन्द समूहका कार्यकर्ताले आइतबार साँझ कालीकोटको जंगलमा छाडेका हुन् ।
कालिकोटका सहायक प्रमुख जिल्ला अधिकारी बमबहादुर नेपालीले शाहीलाई कालिकोटको शुभकालिका गाउँपालिकामा फेला पारिएको बताउनुभयो ।
हिजो नै चन्द नेतृत्वको नेकपाले प्रेस विज्ञप्ति जारी गरेर घटनाको जिम्मेवारी लिएको थियो । गाउँपालिकाको रकममा भ्रष्टाचार र विप्लव समूहविरुद्ध सुराकी गरेको आरोपमा उहालाई गिरफ्तार गरिएको दाबी विज्ञप्तिमा थियो ।
शनिबार राति करिब दुई बजे शाही र उनकी पत्नी इलालाई घरमा सुतिरहेकै बेला विप्लव समूहले अपहरण गरेको थियो । तर, दुई घन्टा हिँडेपछि इलालाई छाडिएको थियो । अपहरणकारीहरुको खोजी भइरहेको प्रहरीले बताएको छ ।