टेकराज केसी
सुर्खेत, १३ पुष (जागरण) । जनगणनाबाट यथार्त तथ्याङ्क आउनेगरी गणना हुनुपर्ने कर्णालीका सरोकारवालाहरुले बताएका छन् ।
केन्द्रीय तथ्याङ्क विभागको आयोजनामा कर्णाली प्रदेशको राजधानी सुर्खेत वीरेन्द्रनगरमा आयोजना गरिएको संचार तथा प्रचार प्रसारका लागि पत्रकारहरुसँगको अन्तरक्रियामा यस्तो सुझाव दिइएको हो ।
उनिहरुले शहरमा बस्ने तर गाउँको तथ्याङ्क दिने कार्य यसअघिका गणनाहरुमा भएको भन्दै दोहोरो नहुनेगरी एथेष्ट गणना हुनुपर्नेमा जोड दिएका छन् ।
कार्यक्रममा बोल्दै पत्रकार भिम परियारले कर्णालीको हुम्ला जिल्लाको एउटा गाउँमा अहिलेसम्म गणना नगरिएको बताउनुभयो ।
अर्का सहभागी पत्रकार नन्दराम जैसीले कर्णालीका अधिकांस व्यक्ती खस भाषा बोल्ने भएपनि थोरै संख्यामा खस भाषा बोलिने तथ्याङ्क यसअघिका जनगणनाबाट आएको भन्दै एथेष्ट तथ्याङ्क आउनेगरी गणना गर्न आग्रह गर्नुभयो ।
कार्यक्रममा बोल्दै सुर्खेतका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले प्रविधिमैत्री बनाउनुपर्ने भन्दै जनगणना गर्दा सरलिकरण ढङ्गले प्रश्नावली बनाइनुपर्ने सुझाव दिनुभयो । उहाले दोहोरो गणना नहुनेगरी काम गर्न विभागलाई सुझाव समेत दिनुभयो ।
यस्तै, केन्द्रीय तथ्याङ्क विभागले विसं २०७८ मा हुने राष्ट्रिय जनगणनाका लागि आगामी माघ १ गतेदेखि तीन महीनासम्म नमूना जनगणनाको तयारी गरेको जानकारी दिएको छ ।
नमूना जनगणनामा कर्णाली प्रदेशबाट दुई जिल्ला समावेश हुने बताइएको छ ।
विभागले जनगणनाका लागि ‘मेरो गणना, मेरो सहभागिता’ सहितको मूल नारा बनाएको केन्द्रीय तथ्याङ्क विभागका निर्देशक ढुण्डीराज लामिछानेले जानकारी दिनुभयो ।
उहाले यसपटकदेखि देशभरका घरधुरी संख्या समेत गणना गरिने भन्दै विगतको भन्दा केहि सुधार गरेर जनगणनाको कार्यलाई अगाडी बढाउन लागिएको बताउनुभयो ।