नेपाल भ्रमण बर्ष आजदेखि शुरु, भ्रमण बर्ष शुरुवात बुलबुलेबाट गरिने (अडियोसहित)

सुर्खेत, १६ पुष (जागरण) । कर्णाली प्रदेश सरकारले भ्रमण बर्ष २०२० को शुभारम्भ प्रदेश राजधानी सुर्खेतको पर्यटकीय स्थल बुलबुलेबाट गर्ने भएको छ ।
भोली बुलबुले उद्यानभित्र एक समारोहको आयोजना गरी भ्रमण बर्षको सुरुवात गरिने उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले जनाएको छ ।
कर्णाली प्रदेशको उद्योग मन्त्रालय, पर्यटन प्रवद्र्धन समिति र वीरेन्द्रनगर नगरपालिकाले उद्घाटन कार्यक्रमको संयुक्त रुपमा आयोजना गर्नेछन् । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले उद्घाटन कार्यक्रममको सम्बोधन गर्ने मन्त्रालयले जनाएको छ ।
उद्घाटन कार्यक्रममार्फत प्रदेशका प्रमुख प्राकृतिक, सांस्कृतिक, धार्मिक, पर्यटकीय सम्पदाहरुको तस्विर, ब्यानर तथा पोष्टरद्वारा प्रचारप्रसार गरिने छ भने प्रदेशको संस्कृति झल्किने सांस्कृतिक कार्यक्रमहरु गरिने मन्त्रालयका सचिव डाक्टर कृष्ण प्रसाद आचार्यले कर्णाली रैबारलाई बताउनुभयो ।

उहाले धेरैभन्दा धेरै पर्यटकहरु भित्र्याउने लक्ष्य रहेको भन्दै पर्यटकको लागि बस्ने वातावरण मिलाउने र उनिहरुको बसाई लम्ब्याउने खालको योजना बनाइएको बताउनुभयो ।

नेपाल भ्रमण बर्ष २०२० लाई सफल पार्न प्रदेशभित्रका सबै जिल्ला समन्वय समिति, ७९ वटै स्थानीय तह, राजनीतिक दल, दलका भातृ संगठनहरु, युवा, उद्यमी, व्यवसायीहरुलाई समेत सहयोग गर्न मन्त्रालयले आग्रह गरेको छ ।
भ्रमण बर्षको सुरु दिन बाजागाजासहित र्यालीमार्फत वीरेन्द्रनगर बजार परिक्रमा गरी बुलबुले तालको दक्षिणी भागमा समारोह आयोजना गर्ने तयारी प्रदेश सरकारको छ ।
भ्रमण बर्षको पहिलो दिन भोली सुर्खेत आउनेहरुलाई स्वागत गर्ने योजना रहेको उहाले जानकारी दिनुभयो ।
कर्णाली प्रदेश सरकारले सन २०२० भित्र एक लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको छ ।