काठमाण्डौँ, २१ पुस (जागरण) । सहिद स्मारक ’ए’ डिभिजन लिग फुटबलमा न्युरोड टिम एनआरटी र जावलाखेल युथ क्लबले बराबरी खेल्दै अंक बाडेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज भएको खेलमा एनआरटी र जावलाखेलले गोलरहित बराबरी खेलेका हुन् ।
खेलमा पाएको अवसर गुमाउदा दुबै टोलीले १–१ अंक बाडेका हुन् । दुबै टोलीले गोलको अवसर बनाएपनि गोल गर्न चुकेका हुन् ।
यो बराबरीसँगै जावलाखेलले लिगको शीर्ष स्थानमा उक्लने मौका गुमाएको छ । चौंथो स्थानको जावलाखेलले ४ खेलमा ९ अंक जोडेको छ । आठौं स्थानको एनआरटीले ४ खेलमा ५ अंक जोडेको छ ।
यसैबीच, लिगमा साविक विजेता मनाङले मच्छिन्द्र क्लवसँग बराबरीमा चित्त बुझाएको छ ।
मनाङले बलियो प्रतिद्वन्द्वी मच्छिन्द्र क्लवसँग दुई दुई गोलको बराबरी खेल्यो । यो बराबरीपछि पनि मनाङ लिगको शीर्ष स्थानमा यथावत रहेको छ ।