बालबालिकालाई चिसोबाट जोगाउनुहोस्ः स्वास्थ्यकर्मी

काठमाण्डौँ, २१ पुस (जागरण) । चिसो मौसममा बालबालिकामा श्वासप्रश्वास सँग सम्वन्धित समस्या हुने भएकाले सतर्कता अपनाउन स्वास्थ्यकर्मीहरुले सचेत गराएका छन् ।
स्वास्थ्यकर्मीहरुले बालबालिकालाई यो समयमा बढीमात्रामा निमोनिया देखिन सक्ने बताएका छन् । उनिहरुकाअनुसार बालबालिकामा निमोनिया हुँदा खोकी लाग्ने, सास फेर्न गाह्रो हुने, स्वाँ–स्वाँ हुने, छिटो छिटो स्वास फेर्ने, कोखा हान्ने, छाती घ्यार घ्यार हुने, ज्वरो आउँने जस्ता लक्षण देखिन सक्छ ।
चिसोमा विशेषगरी पाँच वर्षभन्दा कम उमेरका बालबालिकालाई रुघाखोकी र निमोनिया हुन सक्ने खतरा बढी हुने गर्छ । त्यसैले उनीहरुलाई न्यानो पारेर राख्नुपर्छ ।
चिसो हावामा बालबालिकालाई कपडा लगाइएको छ भनेर खेल्न दिनुहुँदैन । झ्यालढोका पूरै बन्द गरेर बस्नुहुदैन ।
पहिलेदेखि दमको समस्या हुनेलाई रुघाखोकीले छिट्टै सताउन सक्छ । दमको समस्या हुनेले विशेष ध्यान दिनुपर्छ । दुई वर्षसम्म आमाको दुध नियमित खुवाउने तथा पोषणयुक्त तातो खाना खुवाउनुपर्ने स्वास्थ्यकर्मीहरुले बताएका छन् ।