सुर्खेत, २१ पुस (जागरण) । कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्षमा कर्णालीका प्रत्येक जिल्लामा महिला तथा बालबालिका सम्बन्धी सेवा केन्द्र सञ्चालन गर्ने भएकोे छ ।
हिंसाबाट प्रभावित महिला तथा बालबालिकाहरुलाई लक्षित गरी सरकारले प्रदेशका जुम्ला, कालिकोट, दैलेख, रुकुम पश्चिम, सल्यान र सुर्खेतलगायतका ६ वटा जिल्लामा जिल्ला सेवाकेन्द्र सञ्चालन गर्ने भएको हो ।
हिंसाबाट प्रभावित व्यक्ति बढी मनोरोगि हुने भएकाले त्यस्ता व्यक्तिहरुको लागि सरकारले सेवा केन्द्रको अवधारणा ल्याएको हो । मानव सेवा आश्रमसँगको सहकार्यमा दिर्घकालीन आश्रय स्थल सुर्खेतमा सञ्चालन गरेको प्रदेशको सामाजिक मन्त्रालय अन्र्तगतको सामाजिक सुरक्षा तथा महिला विकास शाखाकी महिला विकास अधिकृत सुनिता के.सी.ले जागरणलाई बताउनुभयो ।
उहाँका अनुसार सरकारले उद्यमी महिलाहरुको लागि उद्यमी कार्यक्रम अन्र्तगत उद्यम गर्न चाहने महिलाहरुको लागि पनि विभिन्न सिप मुलक र क्षमता अभिवृद्धिका कार्यक्रमहरु राखेको छ । व्यवसाय गरिरहेका महिलाहरुलाई थप व्यावसायिक बनाउनको लागि उनिहरुले उत्पादन गरेका सामग्रीको प्रर्दशनी, उत्पादकत्व बृद्धी गर्ने लगायतका कार्यक्रम रहेका के.सीले बताउनुभयो ।
उहाँले प्रदेशका महिलाहरुको जिवनस्तर सुधार गर्न सरकारले अनौपचारिक शिक्षा, स्वास्थ्य, सचेतना फैलाउनको लागि र उनीहरुलाई मुल प्रवाहमा ल्याउनको लागि छोरी बुहारी कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो ।
उहाँले कर्णाली प्रदेशबाट सडक बालबालिका मुक्त गर्ने अभियानमा अहिले सरकार अगाडि बढेको बताउनुभयो । सडकमा भएका बालबालिकाहरुको उद्दार गर्ने र उनीहरुको आवश्यकता अनुसार विभिन्न क्रियाकलापहरु गरिहेको बताउनुभएको छ ।
