नन्द कठायत ।
सुर्खेत, २२ पुस (जागरण) । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) अन्तर्गतका विभिन्न कार्यक्रममार्फत कर्णालीका पाँच हजार युवाले रोजगारी पाउने भएका छन् ।
सीटीईभीटीका आङ्गिक, साझेदारी संघसंस्था तथा छोटो अवधिका लागि सञ्चालन गरिने निःशुल्क तालिमबाट ती युवाले रोजगारी पाउने भएका हुन् ।
सीटीईभीटी कर्णाली प्रदेश कार्यालयले सामाजिक विकास मन्त्रालय सगँको सहकार्यमा कार्यविधि र कमिटी गठन गरिसकेकाले सबै काम कार्यविधि अनुसार अगाडी बढाउने सीटीईभीटी कर्णाली प्रदेश कार्यालय तालिम कोडिनेटर प्रमप्रसाद बास्कोटाले जानकारी दिनुभयो ।
उहाँका अनुसार तालिममा ३ सय ९० घण्टा अर्थात ६५ दिन सम्म सञ्चालन हुने भएको छ । वेरोजगार युवालाई विभिन्न सीप सिकेर युवालाई स्वरोजगार बनाउने मुख्य उद्देश्यले यो तालिमको व्यावस्था गरिएको बताउनुभयो ।
तालिममा प्रदेशअन्तर्गतका सिटीइभिटीबाट सम्बन्धनप्राप्त प्राविधिक शिक्षा तथा व्यावसायिक परिषद तालिमबाट सम्बन्ध लिइ प्रविधिक शिक्षा सञ्चालन गरेका स्कुलबाट यो तालिम लागु गर्ने बास्कोटाले बताउनुभयो ।
उहाँकानुसार तालिममा सामान्य लेखपढ गर्न जानेको व्यक्तीलाई समावेश हुन पाउने भएका छन् । अहिले पहिलो चरणमा स्थानिय सरकारका जनप्रतिनिधि र प्राविधिक शिक्षा लागु भएका विद्यालयसँग समन्वय गर्ने काम अगाडि बढेको बताउनुभयो ।
कृषी, इन्जिनियरिङ्ग, फरेष्ट्रीलगायतका २० भन्दा बढी विभिन्न विधा समुहमा तालिम सञ्चालन गरिने बताउनुभयो ।
प्रदेशका दशवटै जिल्लाका ७९ स्थानिय तहहरुमध्ये ७३ वटा स्थानिय तहमा प्राविधिक शिक्षा लागु भएकाले कार्यक्रम सबै स्थानिय तहहरुमा सञ्चालन हुने भएको छ ।