सुर्खेत खोपयुक्त जिल्ला घोषणा

सुर्खेत, ३० वैशाख (जागरण) । सुर्खेत जिल्लालाई पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा गरिएको छ । आज वीरेन्द्रनगरमा एक कार्यक्रमकाबिच नेपालकै ४३ औँ र कर्णाली प्रदेशको दोश्रो जिल्लाका रुपमा पुर्ण खोपयुक्त जिल्ला घोषणा गरिएको हो ।
२०७० चैत २६ गतेदेखि सुरु भएको खोपयुक्त घोषणा अभियान जिल्लाका ९ वटै स्थानीय तहका वडाहरुलाई पूर्ण खोपयुक्त वडा घोषणा गरिसकेपछि जिल्लालाई नै घोषणा गरिएको हो ।
जिल्लामा करिब साढे ८ हजार बालबालिकाले खोप पाए पछि सुर्खेतलाई खोपयुक्त जिल्ला घोषणा गरिएको हो ।
घोषणा कार्यक्रममा बोल्दै कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावलले सबैको सहकार्यमा स्वस्थ कर्णाली निर्माणका लागि तत्परताका साथ लाग्ने प्रतिवद्धता जनाउनुभयो ।
मन्त्री रावलले सरकारले स्वास्थ्य क्षेत्रको विकासलाई पनि प्राथमिकतामा राखेको भन्दै महिला स्वयमसेविकाका समस्यालाई मध्यनजर गर्दै प्रदेश सरकारले निती निर्माण गर्ने बताउनुभयो ।
मन्त्री रावलले चुनौतिपुर्ण रहेको कर्णालीको स्वास्थ्य क्षेत्रको विकासका लागि सबै एकजुट हुनुपर्ने उहाँको भनाई छ । केही दिनभित्र प्रदेश सरकारले स्वास्थ्य निती ल्याउने पनि मन्त्री रावलको भनाई छ ।
जिल्ला खोप समन्वय समितिको आयोजनामा भएको कार्यक्रममा सामाजिक विकास मन्त्री दल रावल, राष्ट्रिय खोप समन्वय समितिको सचिवालयका प्रतिनिधि, जिल्लाका सम्पूर्ण स्थानीय तहका प्रमुख, सरकारी कार्यालय प्रमुख एवं प्रतिनिधि, स्वास्थ्यकर्मीको सहभागिता थियो ।
यसअघि कर्णाली प्रदेशको पहिलो जिल्लाका रुपमा दैलेख पुर्ण खोप सुनिश्चित्ता जिल्ला घोषणा भईसकेको छ ।