माघदेखि सुर्खेतमा लाइसेन्स वितरणको प्रक्रिया शुरु हुने

सुर्खेत, २२ पुस (जागरण) । अवको केही दिनभित्रै कर्णाली प्रदेशको राजधानी सुर्खेतबाटै सवारी चालक अनुमति पत्र (स्मार्ट लाइसेन्स) वितरणको प्रक्रिया शुरु हुने भएको छ ।
एक पटकमा २ सय वटा स्मार्ट कार्ड वितरण गर्न सकिने गरी माघ १ गतेदेखि कार्डको लागि प्रक्रिया शुरु गर्नेगरी यातायात व्यबस्था कार्यालय कर्णाली प्रदेशले तयारी थालेको छ ।
यातायात व्यवस्था कार्यालय कर्णाली प्रदेश सुर्खेतले अनलाईन फारम भर्नका लागि आवश्यक पर्ने नेटवकिङ्गको काममात्र बाँकी रहेको जानकारी दिएको छ ।
कार्यालयका निमित्त प्रमुख आनन्द चपाईले ट्रायल सेन्टर निजी क्षेत्रसँग सहकार्य गरी सञ्चालन गर्ने तयारी भएको जागरणलाई बताउनुभयो ।
यसैबीच, यातायात व्यवस्था कार्यालयबाट नविकरण गरिएका लाइसेन्सको स्मार्ट कार्ड छपाई भइसकेकाले वितरणको काम पनि शुरु भएको छ ।.
यसअघि नविकरण गरिएका लाइसेन्सको स्मार्ट कार्डमध्ये १ हजार २ सय ३३ वटा छपाई भइसकेकाले सम्वन्धित व्यक्तीहरुले कार्यालयमा सम्पर्क गर्नुपर्ने निमित्त कार्यालय प्रमुख चपाईले बताउनुभयो ।