सुर्खेत, २८ पुस (जागरण) । कर्णाली प्रदेश सरकारले महिला तथा बालबालिका सुरक्षा नीति तयार गरी मन्त्रीपरिषद्मा पठाएको छ ।
प्रदेशको सामाजिक विकास मन्त्रालयले दिएको जानकारी अनुसार लैङ्गीक समानता कायम राख्नको लागि महिला तथा बालबालिका सुरक्षा नीति निर्माण गरि प्रदेशको मन्त्रीपरिषद्मा पठाइएको हो । यो नीति पारितपछि प्रदेशमा रहदै आएको लैङ्गिक असमानता कम हुने प्रदेश सरकारको अपेक्षा छ ।
मन्त्रालयका सामाजिक सुरक्षा तथा महिला विकास शाखाका अधिकृत सुनिता केसीले महिलाहरुलाई अगाडी ल्याउन छोरी बुहारी मुल प्रवाहीकरणको योजना कार्यान्यनमा लिन थालिएको कर्णाली रैबारलाई बताउनुभयो ।
महिलालाई पूरुषसरह लिनको लागि प्रदेश सरकारले आयआर्जन र शिक्षामा आकर्षित गर्न बिभिन्न कार्यक्रम संचलन गरेको उहाले जानकारी दिनुभयो ।
विशेषगरी कर्णालीका हिमाली जिल्लाहरुमा महिला र पूरुषमा हुने हिंसा पछिल्लो समय घटेको भन्दै उहाले विभिन्न क्षेत्रमा महिलाहरुका आवाज पुग्न थालेको दाबी गर्नुभयो ।
यता, प्रदेश प्रहरी कार्यालको तथ्यांक अनुसार कर्णालीमा बर्षेनी महिला हिंसाको घटना १ सय ५ प्रतिशतले बढ्न थालेको छ । चालु आर्थिक वर्षमा महिला हिंसाका १ हजार २ सय ४८ घटना भएका छन् ।
लैङ्गिक समानता कायम गर्ने भन्दै सरकारी तथा गैर सरकारी नीकायले पनि थुप्रै कार्यक्रमहरु संचालन गरिरहेका छन् ।