अटोरिक्सा चालकलाई ट्राफिक सम्बन्धी जनचेतना

सुर्खेत, ३० वैशाख (जागरण) । सुर्खेतका अटोरिक्सा चालकहरुलाई ट्राफिक सम्वन्धी जनचेतना दिइएको छ । नेपाल ट्रेड युनियन कांग्रेसले जिल्ला ट्राफिक प्रहरी कार्यालयको समन्वयमा जनचेतना दिएको हो । कार्यक्रममा अटोरिक्सा चालकहरु लाई आफ्ना सवारीसाधनहरुको गति, अवस्था, यात्रुहरुप्रति मैत्रीपूर्ण व्यवहार गर्न सुझाव दिईएको थियो ।
नेपाल ट्रेड युनियन कांग्रेसका कर्णाली प्रदेश अध्यक्ष गोपालकृष्ण गिरीले अटोरिक्सा चालकहरुलाई लाइसेन्स लिने व्यवस्था सुर्खेतबाटै गराइनुपर्ने माग गर्नुभयो । उहाँले पेशा मर्या्दित बनाउन पनि जोड दिनुभयो ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी उमाप्रसाद चतुर्वेदीले अटोरिक्सा चालकहरुलाई लागूपदार्थ दुव्र्यसनको शिकार नहुन सुझाव दिनुभयो । साथै उहाँले ईमान्दारिताका साथ काम गर्न निर्देशन पनि दिनुभयो । मनपरी भाडा उठाउन र क्षमताभन्दा बढी यात्रु चढाएर यात्रा नगर्न पनि उहाँले आग्रह गर्नुभयो ।
प्रदेश प्रहरी कार्यालयका डिएसपी वीरबहादुर ओलीले सवैको सहयोगले सडक सुरक्षा अभियानलाई सफल बनाउन आव्हान गर्नुभयो ।
कार्यक्रममा अटो व्यवसायी लक्ष्मण कँडेलले अटोरिक्सा चालकहरु आत्मनिर्भर बन्न सफल भएकोमा खुशी व्यक्त गर्नुभयो ।
कार्यक्रममा बोल्दै अटो व्यवसायी समिती कर्णाली प्रदेशका अध्यक्ष रामबहादुर विकले अटो लाईसेन्सका लागि यातायात व्यवस्था विभागको कार्यालय सुर्खेतमै स्थापना गर्नुपर्ने बताउनुभयो । उहाँले अटो रिक्सा पार्किङ्गको व्यवस्थासँगै भाडादर र रुट परमिट पनि स्पष्ट खुलाईदिनुपर्ने माग गर्नुभयो ।
यस्तै, सिद्धपाईला यातायात प्रालिका अध्यक्ष पदम वनले पनि अटो रिक्सा व्यवस्थापन तर्फ सबै गम्भीर हुनुपर्ने बताउनुभयो । यातायातको सम्पुर्ण कागजी प्रक्रियाका लागि नेपालगञ्ज जानुपर्ने बाध्यतालाई हटाउन प्रदेश सरकार पनि गम्भीर बन्नुपर्ने उहाँको भनाई छ ।
अटो व्यवसायी लक्ष्मण कँडेलले अटो सञ्चालकहरुलाई आफ्नो आचरण सुधार गर्न सुझाव दिनुभयो । उहाँले अटोको भाडा दर र रुट परमिट तोकिनुपर्ने भन्दै सडकको अवस्था पनि सुधार गर्नुपर्नेतर्फ प्रदेश सरकारको ध्यानाकर्षण गराउनुभयो ।
नेपाल ट्रेड युनियन कांग्रेस सुर्खेतका अध्यक्ष गणेशकुमार कार्कीले अटो व्यवसायीहरुको हकहित र समस्या समाधानका लागि सधैं तयार रहेको बताउनुभयो ।
उहाँले आगामी दिनमा यातायात मजदुरहरुको स्वास्थ्य शिविर संचालन गर्ने लक्ष्य रहेको पनि जानकारी दिनुभयो ।
जिल्ला ट्राफिक प्रहरीका निमित्त प्रमुख कवि सेन्चुरीले अटोरिक्सा चालकहरुलाई ट्राफिक सम्वन्धी जनचेतना दिनुभएको थियो ।
यसैबिच, कार्यक्रममा उत्कृष्ट रिक्सा चालक गजबहादुर टमटा र ज्ञानु सलामीलाई सम्मान पनि गरिएको थियो ।