माघे सक्रान्ति र राष्ट्रिय योग दिवस मनाइदै, कर्णालीमा सार्वजनिक विदा

सुर्खेत, १ माघ (जागरण) । नेपालका अधिकांश जाति समुदायको साझा पर्वको रुपमा आज माघे सक्रान्ति पर्व मनाइँदै छ । विशेषगरी हिन्दू, बुद्धमार्गी र किराँत समुदायको साझा पर्वको दिनको रुपमा माघ १ अर्थात माघे संक्रान्ति मनाउने गरिएको छ ।
हिन्दू समुदायले माघे सक्रान्ति अर्थात मकर संक्रान्तिका रुपमा मनाउने यो दिनलाई मगर समुदायले माघे सकराती भनेर मनाउने गरेका छन् । त्यस्तै थारु समुदायले माघी र खिचरा पर्वका रुपमा मनाउने यो दिनलाई राई समुदायले येले थेचे र सुनुवार समुदायले सामी पिदार पर्वका रुपमा मनाउँछन् ।
समुदाय विशेषमा यो पर्व मनाउने तरिका भने फरक छ । तर सबैले आपसमा भेटघाट, रमाइलो र आफ्ना परम्परागत परिकारहरुका साथमा यो पर्व मनाउछन् ।
थारु समुदायले माघे संक्रान्तिलाई ‘माघी’ भन्छन् भने यो थारु समुदायका लागि महत्वपूर्ण चाड हो । यो पर्वमा चेलिबेटीहरूलाई घरमा बोलाउने, मिठा परिकार खाने खुवाउने र नाचगान गाउने चलन छ ।
थारु समुदायले गाउँको मुखिया चुन्ने काम पनि माघी संक्रान्तिमै गर्दछन् । माघ महिनामा मघौटा नाच नाच्ने गरिन्छ । माघे संक्रान्तिसँगै आजदेखि किराँत नयाँ वर्ष पनि सुरु भएको छ ।
माघे संक्रान्ती पर्वलाई स्थान विशेष अनुसार मनाउने चलन छ । पहाडी भूभागमा बस्ने ब्राम्हण समुदायले बिहानै नुवाई धुवाई गरेर खिचडी खाने गर्छन् । घ्यु, मासको दाल र चामल मिसाएर खिचडी बनाएर खाने चलन छ ।
घ्यु र चाकु पनि खाने चलन छ । पहाडी क्षेत्रमा विषेश त सखरखण्ड, तरुल र पिँडालु उसिनेर खाने चलन छ । कतिपयले घरमा मासको फुरौला पनि बनाउँछन् । दिउँसोको खाजाको रुपमा सेलरोटी पकाएर खाने चलन पनि छ । कर्णाली प्रदेश सरकारले माघ १ गते आज कर्णालीमा सार्वजनिक विदा दिएको छ ।
आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रवक्ता तुल खड्काले कर्णालीका सबै ठाउँमा माघी पर्व मनाउने भएकाले आज सार्वजनिक विदा दिइएको बताउनुभयो । यसैबीच, कर्णाली प्रदेशका प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले “माघे सङ्क्रान्ति, मकर सङ्क्रान्ति वा माघी पर्व, २०७६” को अवसरमा शुभकामना सन्देश दिनुभएको छ । आजै राष्ट्रिय योग दिवस पनि मनाइदै छ ।