विषदीमुक्त र अर्गानिक प्रदेशको अभियानमा साथ दिनुहोस्ः कर्णाली सरकार

सुर्खेत, ७ माघ (जागरण) । कर्णाली प्रदेश सरकारले प्रदेशलाई विषदी मुक्त बनाउनेगरी चलेको अभियानमा साथ दिन सरोकारवालालाई आग्रह गरेको छ ।
विषदीमुक्त र अर्गानिक प्रदेश बनाउनेगरी प्रदेश सरकारले सञ्चालन गरेको अभियानमा हातेमालो गर्न आग्रह गरिएको हो ।
प्रदेश सरकारकी प्रवक्ता एवम् भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीले विगत दुई वर्षदेखि सरकारले विषदी मुक्त र अर्गानिक प्रदेश बनाउनेगरी अभियान चलाइरहेकाले यसमा सवैको साथ जरुरी रहेको बताउनुभयो ।
खेती गर्दा घातक विषदी प्रयोग गर्दा उत्पादन राम्रो देखिए पनि आम उपभोक्ताको स्वास्थ्यमा प्रतिकूल असर पर्ने उहाँले बताउनुभएको छ ।
कर्णालीको राजधानी वीरेन्द्रनगर सुर्खेतमा भएको विषादी प्रयोगमुक्त सप्ताह कार्यक्रमको समापन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
मन्त्री केसीले विषादीको प्रयोगले मानव स्वास्थ्य तथा वातावरणमा समस्या निम्त्याउने भएकाले यसको न्यूनिकरण र सुरक्षित प्रयोग गर्न जनचेतना जगाउनुपर्ने बताउनुभयो ।
मन्त्री केसीले कर्णालीलाई पूर्ण अर्गानिक प्रदेशका रुपमा विकास गरे मात्र कृषि विकासको अभियान सार्थक हुने बताउनुभयो ।
भुमि व्यवस्था कृषि तथा शहकारी मन्त्रालय र एकिकृत कृषि प्रयोगशालाको आयोजनमा माघ १ गते देखि ७ गते सम्म सप्ताह मनाइएको हो ।
यसैबीच, समापन कार्यक्रममा विषादी न्यनिकरणको बिषयमा वतृत्वकला तथा लोक गीत प्रतियोगिता पनि गरिएको छ । जसमा लोक गीतमा साना किसान कृषि सहकारी संस्था लिमिटेड लेकवेशी नगरपालिका १० साटाखानी सुर्खेतले प्रथम स्थान हात पार्न सफल भएको छ ।
वतृत्वकलातर्फ नेपाल राष्ट्रिय सामुदायिक माध्यमिक विद्यालय वीरेन्द्रनगर १३ करेखोलाकी छात्रा रुपा रिजाल प्रथम हुनुभएको छ ।