हिलाम्य राजमार्गमा सकसपूर्ण यात्रा

पंखबहादुर शाही ।
सुर्खेत, ८ माघ (जागरण) । दुई हप्तादेखि हिलाम्य बनेको कर्णाली राजमार्ग अझै सुधार हुन सकेको छैन । वर्षाका कारण हिलाम्य बनेका सडकमा यातायात अस्तव्यस्त बनेको हो ।
कर्णाली राजमार्ग कालोपत्रे उप्किएर ठाउँठाउँमा खाल्डाखुल्डी र वर्षाको समयमा झन यात्रा सकसपूर्ण रहेको यात्रुहरुले गुनासो गरेका छन् ।
साँघुरो सडक, खाल्डाखुल्डी र हिलाम्य अवस्थाले गर्दा सवारी दुर्घटनाको जोखिम बढेको रामाघाटबाट सुर्खेतको यात्रा गर्नुभएका दैलेखका विमल वोगटीले बताउनुभयो ।
डुङ्गेश्वरदेखि बड्डिचौर सम्मको सडकखण्डको अबस्था नाजुक भएपछि सवारीसाधनको रुट परिवर्तन भएको छ । अहिले सवारी साधनहरु सुर्खेत–दैलेख सडकखण्ड हुँदै यातायातका साधन चल्ने भएका छन् ।
राजमार्गमा निर्माणधिन पुलहरुले गर्दा यातायातका साधनहरु चल्न सकस भएको छ । सडक डिभिजन कार्यालय सुर्खेतका अनुसार सुर्खेत–जुम्ला सडक र सिँयाकोट–दैलेख बजार सम्म जोड्ने सडक सुधारका काम चलिरहेका छन् ।
यसैबीच, यी सडकखण्डमा रहेका अधिकांश पुलको डिजाइन फेर्नुपर्ने भएको छ । सडक डिभिजन कार्यालय सुर्खेतका इञ्जिनियर देवेन्द्र भट्टराईकाअनुसार काठमाडौँमा बसेर डिजाइन गरिएका अधिकाँश पुलको ‘रि–डिजाईन’ गर्नुपरेको छ ।
चालु आर्थिक वर्षमा सुर्खेत–जुम्ला सडकखण्डमा कालोपत्रे गर्नका लागि चालु आर्थिक वर्षमा १३ करोड रकम विनियोजन भएको छ । यसैगरी सुर्खेत–दैलेख सडक खण्डको सुधार गर्न १२ करोड रुपैयाँको टेन्डर आव्हान गरिएको भट्टराईले कर्णाली रैबारलाई जानकारी दिनुभयो ।