छाउप्रथा अन्त्य गर्न कर्णालीमा प्रयास थाल्ने सवै तहका सरकारको प्रतिवद्धता

नन्द कठायत ।
सुर्खेत, ८ माघ (जागरण) । छाउप्रथा अन्त्य गर्नका लागि कर्णाली प्रदेशका तीनवटै तहका सरकारले संयुक्त प्रयास थाल्ने प्रतिवद्धता जनाएका छन् ।
महिलाहरुलाई महिनावारी हुँदा राख्ने गरिएको घरभन्दा छुट्टै र कष्टकर छाउगोठ हटाउन कर्णाली प्रदेशका स्थानिय, प्रदेश र संघीय सरकारले संयुक्त रुपमा प्रयास थाल्ने प्रतिवद्धता जनाएका हुन् । स्थानिय, प्रदेश र संघिय सरकारका प्रतिनिधिहरुले संयुक्त रुपमा तीन बुँदे साझा पत्र घोषणा गरेका छन् ।
छाउगोठ अन्त्य तथा मर्यादित महिनावारी प्रवद्र्धनका लागि साझा अभियान विषयक कार्यक्रमबाट साझा प्रतिवद्धता गरिएको कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावलले घोषणा गर्नुभयो ।


मन्त्री रावलले कर्णाली प्रदेशमा कलङ्कका रुपमा रहेको छाउगोठ प्रथालाई २०७७ असार मसान्त सम्म मानसिक रुपमा अन्त्य गर्ने बताउनुभयो । उहाँले छाउगोठसहित कर्णालीका विभिन्न जिल्लामा कुरीतिको रुपमा रहेको जातिय छुवाछुत, बालविबाह लगायतका कुप्रथालाई पनि आगामी एक वर्ष भित्र अन्त्य बताउनुभयो ।
कार्यक्रममा नेपाल सरकारका महिला, बालबालिका तथा ज्येष्ट नागरिक मन्त्री पार्वत गुरुङ्गले सामाजिक हानिकारक प्रथा अन्त्य गर्न सरकारले प्याकेजमै कार्यक्रम अघि बढाउने बताउनुभयो ।
उहाँले नेपालको नीति निर्माण तथा कार्यान्वयनको तहमा रहेका मानिसहरुको मानसिकतामा पूर्वाधार विकासको काममात्र राष्ट्रिय गौरवको कार्यक्रम हुने गरेको बताउँदै अव सामाजिक विकासको कामलाई पनि राष्ट्रिय गौरवको कार्यक्रमका रुपमा अघि बढाउनुपर्नेमा जोड दिनुभयो ।
यस्तै नेपाल सरकारका स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावतले कर्णाली प्रदेशमा परमपरादेखि रहेका हानिकारक प्रथा अन्त्य गर्न केन्द्र सरकारले लिएको लक्ष्यमा सवैले साथ दिनुपर्ने बताउनुभयो ।
यसैबीच, छाउगोठको अन्त्य सम्वन्धि कार्यक्रम जाने बुझेका व्यक्तीको बीचमा गर्नुभन्दा ग्रामीण क्षेत्रसम्मै पुग्नेगरी कार्य गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । सुविधा सम्पन्न होटलमा कार्यक्रम गरिएको प्रति असन्तुष्टी जनाउँदै आम सर्वसाधारण नागरिकसम्म पुग्नेगरी कार्यक्रम गर्न जोड दिइएको हो ।