काठमाण्डौँ, ९ माघ (जागरण) । संघिय संसद् अन्तर्गत राष्ट्रिय सभाको १८ सदस्यका लागि मतदान शुरु भएको छ । बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म हुने मतदानमा ६ दलका ४५ जना उम्मेदवार प्रतिस्पर्धामा छन् ।
कर्णाली प्रदेशको जिल्ला निर्वाचन कार्यालय सुर्खेत परिसरमा मतदान शुरु भएको छ । यसैगरी, प्रदेश १ मा मोरङको विराटनगर महानगरपालिकाको वीरेन्द्र सभागृह, प्रदेश २ मा धनुषाको जनकपुर उपमहानगरपालिकाको महेन्द्र नारायणनिधि स्मृति भवन, वाग्मती प्रदेशको ललितपुर महानगरपालिका ४ को समितिको भवन, गण्डकी प्रदेशको जिल्ला निर्वाचन कार्यालय कास्की परिसरमा मतदान चल्दैछ ।
हुनेछ ।
यस्तै प्रदेश ५ को दाङ घोराही उपमहानगरपालिकाको कर्मचारी मिलन केन्द्रको भवन र सुदूरपश्चिम प्रदेशको सिलगढी नगरपालिकाको पद्म पब्लिक मुक्ति नारायण माध्यमिक विद्यालयमा मतदानस्थल तोकिएको निर्वाचन आयोगले जनाएको छ ।
प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाका अनुसार सात प्रदेशमा ५ सय ५० जना प्रदेश सदस्य र एक हजार ५ सय ६ पालिकाका पदाधिकारीको नाम मतदाता सूचीमा छ । मतदान भएको केही घण्टामा नै मतपरिणाम सार्वजनिक गर्ने निर्वाचन आयोगको तयारी छ ।
राष्ट्रिय सभाको कुल ५९ सदस्यमध्ये एक तिहाई अर्थात् १९ जना दुई वर्षे कार्यकाल सकेर बाहिरिन लागेका हुन् । जसमध्ये १८ जना चुनावमार्फत छानिने छन् भने एक जना सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनित हुनेछन् । राष्ट्रिय सभामा सात वटै प्रदेशबाट मतभारका आधारमा सदस्य छानिने व्यवस्था छ ।
जसअनुरुप अहिले कर्णाली प्रदेशबाट दुई जना, प्रदेश १ बाट तीन जना, प्रदेश २ बाट चार जना, प्रदेश ३ बाट दुई जना, गण्डकी प्रदेशबाट दुई जना, प्रदेश ५ बाट तीन जना र सुदूरपश्चिम प्रदेशबाट दुई जना गरी कुल १८ जना मतदानमार्फत छानिने छन् ।