राष्ट्रिय सभा सदस्यका लागि कर्णालीमा नेकपा विजयी

सुर्खेत, ९ माघ (जागरण) । राष्ट्रिय सभा सदस्य निर्वाचनमा कर्णालीबाट नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) का उम्मेदवारहरु विजयी भएका छन् । नेकपाका उम्मेदवार मायाप्रसाद शर्मा र सुमित्रा विसी विजयी भएका हुन् ।
शर्माले तीन हजार ६ सय १८ र विसीले तीन हजार ६ सय ८४ मत प्राप्त गरेर विजय हाँसिल गर्नुभएको निर्वाचन आयोगले जनाएको छ ।
विजयी शर्मा जाजरकोट र विसी सुर्खेतका हुनुहुन्छ । प्रतिद्वन्द्वी नेपाली काँग्रेसका डिल्लीराज पाठक र गणेशकुमारी बस्नेतले समान एक हजार २६ मत प्राप्त गर्नुभएको छ ।


कर्णालीमा प्रदेश सभाका ४० सांसद र ७९ स्थानिय तहका प्रमुख–उप–प्रमुख तथा अध्यक्ष–उपाध्यक्ष १ सय ५८ गरी १ सय ९८ जना मतदाता रहेकोमा १ सय ९५ मत खसेको छ ।
जिल्ला निर्वाचन कार्यालय सुर्खेत परिसरमा भएको मतदानको शुरुवातमा सवैभन्दा पहिला रुकुम पश्चिमबाट निर्वाचित साँसद गोपाल शर्माले मतदान गर्नुभएको थियो ।
संघिय संसद् अन्तर्गत राष्ट्रिय सभाको १८ सदस्यका लागि देशभर ६ दलका ४५ जना उम्मेदवार प्रतिस्पर्धामा थिए । राष्ट्रिय सभाको कुल ५९ सदस्यमध्ये एक तिहाई अर्थात् १९ जना दुई वर्षे कार्यकाल सकेर बाहिरिन लागेका हुन् ।
जसमध्ये १८ जना निर्वाचनमार्फत र एक जना सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनित हुनेछन् । राष्ट्रिय सभामा सात वटै प्रदेशबाट मतभारका आधारमा सदस्य छानिने व्यवस्था छ ।
यसैबीच, कर्णाली प्रदेशका जनप्रतिनिधिहरु पनि मतदान गर्न नजान्ने खालका रहेका भेटिएको छ । जनप्रतिनिधिले नै मतदान गर्ने राष्ट्रिय सभा सदस्यको निर्वाचनमा दुई मत बदर भएपछि जनप्रतिनिधिहरु समेत मतदान गर्न नजान्ने खालका रहेका पाइएको हो । निर्वाचन अधिकृत डाक्टर राजेन्द्रप्रसाद आचार्यले दुई मत बदर भएको जानकारी दिनुभयो ।