विमान दुर्घटनामा दुई जनाको मृत्यु

सुर्खेत, ३ जेठ (जागरण) । सुर्खेत विमानस्थलबाट कार्गो लिएर हुम्लाको सिमीकोटका लागि उडेको मकालु एयरको विमान दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
हुम्लाको खार्पुनाथ गाउँपालिका–२ स्थित राया र थाली गाउँको बीचमा पर्ने बाहुनखर्कमा ९एन–एजेयु कलसाइन विमान दुर्घटनाग्रस्त हुँदा पाइलट किरण भट्टराई र को–पाइलट आदित्य नेपालीको मृत्यु भएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ ।
दुर्घटनास्थल सिमिकोट विमानस्थलबाट ७ दशमलब ७ नटिकल माइल दक्षिणपूर्व रहेको नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता प्रेमनाथ ठाकुरले जानकारी दिनुभयो ।
बुधबार बिहान ६ बजेर १२ मिनेटमा उडेको विमानको नेपालगन्ज टावरसँग ६ बजेर २७ मिनेटमा अन्तिम सम्पर्क भएको नागरिक उड्डयन प्राधिकरणका महाप्रबन्धक राजकुमार क्षेत्रीद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । विमान बुधबार बिहान सुर्खेतबाट हुम्लाका लागि उडेको थियो ।
प्रदेश प्रहरी कार्यालयका डिएसपी वीरबहादुर वलीका अनुसार बिहान १० बजेर २५ मिनेट जाँदा जहाज दुर्घटनाग्रस्त अवस्थामा भेटिएको हो । विमान ११ सय ७० किलो सामान बोकेर हुम्लाको सिमकोटका लागि उडेको थियो ।
यसैबिच, विमान दुर्घटना र त्यसबाट भएको मानविय क्षतिप्रति कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रवहादुर शाहीले दुख व्यक्त गर्नुभएको छ ।
मुख्यमन्त्री शाहीले मृतकद्वय चालक किरण भट्टराई र सह–चालक आदित्य नेपालीप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै शोकमा रहनुभएका परिवारजनप्रति गहिरो समवेदना प्रकट गर्नुभएको छ ।
उहाँले एकातिर भौगोलिक विकटताका कारण कर्णाली प्रदेशमा हवाई यातायातको अपरिहार्यता रहेको र अर्को्तिर हवाई दुर्घटनाहरु बढ्दै गएकोप्रति गम्भीर चिन्ता गर्नुभएको छ ।
कर्णाली प्रदेशमा हवाई सुरक्षाका लागि केन्द्र सरकार र सम्वन्धित निकायहरुसँग आवश्यक समन्वय गरी दुर्घटना न्युनिकरणको पहल गर्ने प्रतिवद्धता समेत गर्नुभएको छ ।
यसैबिच, कर्णाली प्रदेशका प्रदेश प्रमुख दुर्गाकेशर खनालले पनि विमान दुर्घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ ।