गृहमन्त्रीले विप्लप आधारभूत रुपमा नियन्त्रित भएको बताउदा भयो प्रदर्शन

सुर्खेत, ११ माघ (जागरण) । सरकारद्वारा प्रतिवन्धित नेत्रविक्रम चन्द ’विप्लव’ नेतृत्वको समूहले कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा गृहमन्त्री रामबहादुर थापा ’बादल’ विरुद्ध प्रदर्शन गरेका छन् ।
गृहमन्त्री बादलले ’विप्लव’ नेतृत्वको समूहलाई आधारभूत रूपमा नियन्त्रण गरेको अभिव्यक्ति दिएकै दिन प्रदर्शन गरिएको हो ।
आफ्ना नेता तथा कार्यकर्तालाई झूट्टा मुद्दा लगाई जेल र हिरासतमा राखेकोले तिनीहरूको रिहाका लागि दबाबमूलक संघर्ष गर्ने नीतिअनुसार विरोध प्रदर्शन गरेको विप्लप समूहले जनाएको छ ।
यसैबीच, गृहमन्त्री बादलले राष्ट्रिय हित अनुरुप हुने गरेर अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) संसदबाट पास हुने बताउनुभएको छ । आज वीरेन्द्रनगरमा पत्रकारहरुसँग कुरा गर्दै गृहमन्त्री थापाले देशको विकास र समृद्धिका लागि बाह्य सहयोग आवश्यक रहेको बताउनुभयो ।
कर्णाली प्रदेशको प्रदेश स्तरीय सम्मेलनमा भाग लिन आएका गृहमन्त्री बादलले संविधान र राज्यविरोधी समूह सरकारको नियन्त्रणमा रहेको बताउनुभयो । ‘विप्लव समूह राज्यविरोधी भएकाले सरकारले प्रतिवन्ध लगाएको बताउनुभयो । उहाँले विप्लव समूहसँग वार्ताको प्रयास पनि भइरहेको बताउनुभएको छ ।