सृजना बुढाथोकी ।
सुर्खेत, १२ माघ (जागरण) । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतको लाटिकोइलीस्थित एक धार्मिक पर्यटकिय स्थल शिवमन्दिरलाई स्तरउन्नति गरी स्मार्ट बनाउने भन्दै केही समय पहिला महामहोत्सव भयो । महामहोत्सवबाट केही दान पनि संकलन भयो । अव त मन्दिर पनि स्मार्ट बन्ने भयो भन्ने आशासहित नागरिकहरु उत्साहित भए । तर अहिले काम अघि नबढ्दा निराशा छाएको छ ।
२०७५ साल साउन महिनामा कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरको वडा नं. ९ मा रहेको शिव मन्दिरमा धार्मिक शिव महामहोत्सव सम्पन्न भएको थियो । लाटिकोइलीमा रहेको शिव मन्दिरलाई प्रदेशकै समृद्ध (स्मार्ट) धार्मिक पर्यटकिय क्षेत्र निर्माण गर्ने हेतुले धार्मिक शिव महामहोत्सबको आयोजना गरिएको आयोजकले जानकारी दिएको छ ।
कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्दनगर वडा नं. ९ मा सयौ वर्ष पुरानो शिवको मन्दिर छ । जहा हरेक वर्षको साउन महिनाको सोमबार र शिवरात्रीका दिन ठुलो मेला लाग्ने गर्छ । सबै भन्दा पुरानो शिवको मन्दिरका रुपमा परिचित यस मन्दिर आस्थाको धरोहर हो ।
यसै मन्दिरलाई प्रदेशकै समृद्ध (स्मार्ट) धार्मिक पर्यटकिय क्षेत्र निर्माण गर्ने उद्धेश्यका साथ २०७५ सालको साउन महिनामा शिव महामहोत्सबको भव्यताका साथ सम्पन्न भयो । महामहोत्सब भएको अहिले डेढ वर्ष करिब भैसकेको छ तर उद्धेश्य अनुरुपको कामको शुरुवात भने भएन ।
महामहोत्सबबाट करिव एक करोड बढि रकम संकलन भएको र खर्च कटौती गरेर बचेको रकम बैंकमा राखिएको मुल आयोजक समितिका अध्यक्ष ध्रवकुमार श्रेष्ठले जानकारी दिनुभयो । स्मार्ट शिव मन्दिर बनाउने उद्धेश्य अनुरुप बनाइएको गुरुयोजनाका आधारमा अहिले २१ फिट अग्लो अर्धनागेश्वरको मुर्ति निर्माण कार्यको शुरुवात भएको बताउनुहुन्छ, अध्यक्ष ध्रवकुमार श्रेष्ठ
यो कार्य गुरुयोजना बनाए अनुसार कुनै सानो काम नभएकाले केहि समय लाग्ने तर बिश्वमै चिनिने खाल्को स्मार्ट शिव मन्दिर बनाउन आफुहरु हर तवर ले लागि परेको अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।
बाबुबाजेले धेरै वर्ष मन्दिरकै शरणमा बिताएको र आफुपनि यहि मन्दिरलाईनै घर सम्झेर बसेको हुदा यस शिव मन्दिरलाई छिटै स्मार्ट शिव मन्दिरका रुपमा देख्न चाहेको मन्दिरका पुजारी अक्ष कुमार योगिले बताउनुभयो । मन्दिर व्यवस्थापन तथा महाँमहोत्सब आयोजक समिती प्रति आफु ढुक्क भएकोले काम छिटै सम्पन्न हुने प्रति आफु बिश्वस्त रहेको योगिको भनाई छ ।
गुरुयोजना अनुरुपको कामका लागि यति बजेटले नपुग्ने भएकाले सहयोग जुटाउनका लागि स्थानिय तह, प्रदेश सरकार र विभिन्न निकायमा प्रपोजल पेश गरिसकिएको वडा नं. ९ का वडा अध्यक्ष सुरेशकुमार मानन्धरले जानकारी दिनुभयो । वडा नं. ९मा रहेका मुख्य धार्मिक पर्यटकिय स्थल काक्रेबिहार र शिव मन्दिरलाई प्रदेशकै नमुनाका रुपमा स्थापित गर्न वडा कार्यालय लागि परेको जानकारी दिनुभयो ।
हाम्रो गाउं ठाउमा रहेका यस्दा सम्पदा जोगाउनु अनि मर्मत सम्हार गर्नु हामि सबैको दायित्व हो । साथै आम नागरिकहरुले पनि चासो दिन जरुरी छ । सबैको सक्रियतापछि नै शिव मन्दिर साच्चिकै सुन्दर बन्ने छ । त्यसपछि मात्र संभव हुने छ शिवमन्दिर लाई पर्यटकिय गन्तब्य बनाउन । त्यसैले आजै देखि सबैले हातेमालो गर्न जरुरी छ ।