टेकराज केसी
सुर्खेत, १२ माघ (जागरण) । सुर्खेत गुर्भाकोट ५ थक्लेनी गाउँका कृषकहरुले तरकारी खेतीबाट बार्षिक १५ करोडभन्दा धेरैको आम्दानी गर्ने गरेका छन् ।
मेहेलकुनादेखि नजिकै रहेको उक्त गाउँमा करिब १ सय ५० घरधुरी रहेको थक्लेनीका ५० घरपरिवारले व्यवसायिक रुपमा तरकारी खेती गर्दै मनग्य आम्दानी लिने गरेका हुन् ।
थक्लेनी गाउँमा अहिले भाजीको साग, काउली, बन्दा, आलु लगायतका अन्य बेमौसमी तरकारी खेती रहर लाग्दो गरी उत्पादन गर्ने गरिएको छ ।
कृषकहरुका अनुुसार एकजना कृषकले बार्षिक ५ लाख देखि १० लाख सम्मको उत्पादन गर्ने गरेका छन् ।
थक्लेनीमा सुर्खेतकै सबैभन्दा धेरै उत्पादन हुने दाबी गर्दै कृषक डिल बहादुर डागीले सरकारले अझै कृषकहरुलाई प्रोत्साहनका कार्यक्रम ल्याएको खण्डमा उत्पादन वृद्धि हुने बताउनुभयो ।
गुर्भाकोट ५ थक्लेनीका अर्का कृषक मोहनलाल डागीले पनि अहिले एक कृषकले पाँच लाखसम्म कमाउने गरेको भन्दै विदेशिने युवाहरुलाई यस्तै खालको कृषि उत्पादनमा लाग्न आग्रह गर्नुभयो ।
उहाँजस्तै थक्लेनीकै भुमीसरा खड्काले पनि १० बर्षदेखि कृषि पेशा गर्दै आएको बताउनुभयो । उहाले पछिल्लो समय कृषिमा आधुनिकीकरण गर्दै जाँदा फाईदै फाईदा भएको बताउनुभयो ।
यता, वडाको तर्फबाट पनि यस गाउँका कृषकहरुको लागि बिभिन्न कार्यक्रम संचालन गर्ने योजना बनाएको वडा नम्बर ५ का वडा सदस्य रत्न बहादुर रोकाले बताउनुभयो ।
यस गाउँको माटो कृषि खेतीको लागि अति नै उपयुक्त भएको भन्दै कृषि पकेट क्षेत्रको रुपमा विकास गर्न सके उत्पादन दोब्बर गर्न सकिने कृषकहरुको भनाई छ ।