सुर्खेत, १२ माघ (जागरण) । पछिल्लो समय कुष्ठरोग लागेका कर्णाली प्रदेशका नागरिकहरुले आफूलाई रोग लागेकै कारण समाजमा अपमान खेप्नुपरेको बताएका छन् ।
अहिले पनि कर्णालीका विकट ठाउँमा उपचारको पहुँच बाहिर रहेका कुष्ठरोगीलाई घरभन्दा अलग तथा ओढार र गुफामा राख्ने गरिन्छ । कतिपयमा कुष्ठरोगी र उनीहरूले खाएको भाँडा तथा बसेको ठाउँ छुन हुँदैन भन्ने सोचाई अहिले पनि छ ।
स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेश सुर्खेतको तथ्यांकअनुसार पछिल्लो पाँच आर्थिक वर्षमा मात्रै कर्णालीमा ५ सय ४६ जना कुष्ठरोगका नयाँ बिरामी फेला परेका हुन् । अहिले पनि कर्णाली प्रदेशमा प्रति एक हजार व्यक्तिमा चार जना कुष्ठरोगको संक्रमित भएको एक तथ्यांकले देखाएको छ ।
जसमध्ये आर्थिक वर्ष २०७१/०७२ मा १ सय ८ जना, २०७२/७३ मा १ सय १९ जना, २०७३/७४ मा १ सय १५, २०७४/७५ मा पनि १ सय १५ र २०७५/७६ मा ८९ जना नयाँ कुष्ठरोगका बिरामी भेटिएका स्वास्थ्य निर्देशक रीता भण्डारीले बताउनुभयो । उहाँका अनुसार सबैभन्दा बढी कुष्ठरोगका बिरामी कर्णालीको जाजरकोटमा भेटिने गरेका छन् ।