सुर्खेत, १२ माघ (जागरण) । कर्णाली प्रदेशमा पहिलो पटक ‘कर्णाली उत्सव, कुडा कर्णाली’ का हुने भएको छ ।
कर्णाली प्रदेश सरकारसँगको सहकार्यमा ऋति फाउण्डेशनको आयोजनामा फागुन महिनाको दोस्रो हप्ता सुर्खेतको पर्यटकीय स्थल बुलबुले उद्यानमा ‘कुडा कर्णाली’ का हुन लागेको हो ।
उत्सवमा कर्णालीलाई बुझेका र बुझ्न चाहेका देश तथा विदेशका एक सय भन्दा बढी साहित्यकार, लेखक, पत्रकार र कलाकारहरुको उपस्थित रहनेछ । उत्सवमा दस हजार भन्दा बढीको सहभागिता रहने आयोजकको भनाई छ ।
करिव ३३ लाख अनुमानित खर्च लाग्ने यो कार्यक्रममा कर्णाली प्रदेशको रैथान्ने सस्कृती तथा रैथान्ने भाषाको प्रयोग गरिनुका साथै प्रदेशको पहिचान र सम्भावनालाई केलाएर ऐतिहाँसिक, राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक एवम् पर्यटकीय महत्वलाई परिचित गराउने उद्देश्य रहेको आयोजक समितिका सदस्यसमेत रहनुभएका कर्णाली प्रदेश सरकारका प्रमुख सचिव केवलप्रसाद भण्डारीले जानकारी दिनुभयो ।
साथै कर्णाली प्रदेशलाई बौद्धिक गन्तव्यका रुपमा विकास गर्नका लागि पनि यो कार्यक्रम महत्वपूर्ण रहने भण्डारीको भनाई छ ।
तीन दिनसम्म संचालन हुने उत्सवमा पहिलो दिन वीरेन्द्रनगर बजार परिक्रम पश्चात देउडा संस्कृतिबाट कार्यक्रमको औपचारिक उद्घाटन हुने छ भने कर्णालीका बेला, शासनका तीन तह, सँगसँगै हिन र खसका खासखुस सँगै साँझको समयमा थारु, भोटे, मयुरलगायत नाँच प्रस्तुत गर्ने कार्यक्रम छ ।
दोस्रो दिन कर्णाली कोट्याउ, कालापहाडका तोणा, कर्णाली क्या नाम घुमेर हेर्दा, कर्णालीका कला, दबाई र देउता–भोक र भकारीलगायतका विषयमा छलफल हुनेछ भने साँझ कविता वाचन कार्यक्रम रहनेछ ।
तेस्रो दिनमा मान्ठा जुर्मराउँछन्, कसरी बन्छ कर्णाली ?, साहित्यमा कर्णालीका कथा, कर्णालीको एघारौं जिल्ला (राउटे) र साँझ गजल वाचनको कार्यक्रम रहने छ ।
यो उत्सवमा राउटे समुदायलाई ११ औँ जिल्लाको रुपमा अथवा १० कर्णालीका जिल्ला त्यसपछिको १ जिल्ला भनेको राउटे भनेर उल्लेख गरिएको छ ।