सुर्खेत, १२ माघ (जागरण) । कर्णाली प्रदेश सरकारले कर्णालीमा काम गर्ने कर्मचारीलाई प्रोत्साहन भत्ता दिने निर्णय कार्यान्वयन गर्ने भएको छ ।
प्रदेश सरकारका प्रवक्ता एवम् भूमी व्यवस्था कृषि तथा सहकारी मन्त्री विमला केसीकाअनुसार कर्मचारीले छनौट गर्दा अन्तिममामात्र कर्णालीलाई रोज्ने गरेपछि यस्तो गरिएको हो ।
जसमा चारवटा श्रेणी बनाएर कर्णालीका विभिन्न भूगोलमा काम गर्ने कर्मचारी र चिकित्सकलाई चालु आर्थिक बर्षको मंसिर महिना देखी नै लागु हुने गरी प्रोत्साहन भत्ता दिने निर्णय गरेको प्रदेश सरकार प्रवक्ता केसीले बताउनुभयो ।
मन्त्री केसीकाअनुसार सुर्खेतमा काम गर्नेलाई ४ हजार, सल्यान, रुकुमपश्चिम, जाजरकोट र दैलेखमा काम गर्ने कर्मचारीलाई ६÷६ हजार, कालिकोट र जुम्लामा काम गर्ने कर्मचारीलाई ८÷८ हजार तथा मुगु, डोल्पा र हुम्लामा काम गर्ने कर्मचारीलाई १०–१० हजारका दरले मासिक प्रोत्साहन भत्ता प्रदेश सरकारले दिने भएको छ ।
चिकित्सकहरुका लागि पनि विशेष भत्ताको व्यवस्था कर्णाली सरकारले गर्ने भएको छ । यसैगरी चिकित्सकहरुलाई तह र जिल्ला अनुसारको प्रोत्साहन भत्ता प्रदेश सरकारले दिने भएको छ । एघारौं तहका विषेश चिकित्सकले सुर्खेतमा ७५ प्रतिशत, दैलेख, जाजरकोट र रुकुम पश्चिम, र सल्यानमा ९० प्रतिशत कालिकोट र जुम्लामा एक सय प्रतिशत तथा हुम्ला, डोल्पा र मुगुमा एकसय ३५ प्रतिशत प्रोत्साहन वापतको रकम प्राप्त गर्ने छन् ।
नवौं र दशौं तहका चिकित्सकले सुर्खेतमा तलवको ७५ प्रतिशत, जाजरकोट, दैलेख, रुकुमपश्चिम र सल्यानमा ८० प्रतिशत, कालिकोट र जुम्लामा ९० प्रतिशत तथा हुम्ला, डोल्पा र मुगुमा एकसय २५ प्रतिशत प्रोत्साहन भत्ता पाउनेछन् ।
यस्तै आठौं तहका चिकित्सकले तलवको सुर्खेतमा ५० प्रतिशत, दैलेख, जाजरकोट, रुकुमपश्चिम र सल्यानमा ६०, कालिकोट र जुम्लामा ७५ तथा मुगु, डोल्पा र हुम्लामा एकसय प्रतिशत प्रोत्साहन भत्ता पाउने भएका छन् ।