लागूऔषध दुर्व्यसनमा फस्ने दर बढ्दो

कृति सुवेदी ।
सुर्खेत, १४ माघ (जागरण) । कर्णाली प्रदेशमा लागुऔषध दुर्व्यसनमा युवा पुस्ताहरु फस्ने दर बढेको पाइएको छ ।
एकिन तथ्याङ्क नभएपनि नयाँ जिवनशैली अपनाउने नाममा युवाहरु दुर्व्यसनमा फस्ने दर बढेको हो । यो पछिल्लो समय सामाजिक समस्याको जटिल रुप बन्न थालेको छ ।
१६ बर्ष उमेर समुहका युवाहरु दुर्व्यसनमा धेरै फस्ने गरेको भन्दै यसमा अविभावकहरुले ध्यान दिन आवश्यक रहेको सरोकारवालाहरुले सुझाएका छन् ।

फोटोः बिबिसी ।

समाजसेवी तथा ग्रामीण जागरण सिकाई केन्द्रका अध्यक्ष टिकाराम खरालले अविभावकहरुले आफ्ना बालबालिकाहरुको निगरानीमा ध्यान दिन आवश्यक रहेको भन्दै नत्र यसले ठुलो समस्या भविश्यमा ल्याउने बताउनुभयो ।
अध्यक्ष खरालले यस्तो समस्या निराकरण गर्नका लागि आफ्नो संस्थाको ध्यानाकर्षण भएको भन्दै जनचेतना मुलक कार्यक्रम संचालन गरिने बताउनुभयो ।
विशेष गरी कर्णाली प्रदेशको राजधानीमा लागु पदार्थ दुर्व्यसनको दर बढेको उहाको भनाई छ । ग्रामीण जागरण सिकाई केन्द्रले दुर्व्यसन सम्बन्धी जनचेतनामुलक काम गर्दै आएको छ ।
यता, वडा नम्बर १२ का वडा अध्यक्ष लोक प्रसाद चालिसेले लागु पदार्थमा लाग्न नदिनेगरी जनचेतनामुलक कार्यक्रम वडाको तर्फबाट संचालन गरिएको बताउनुभयो ।
कर्णालीमा कती लागु पदार्थ ओसारपसार र दुर्व्यसनमा छन् भन्ने एकिन तथ्याङ्क नभएपनि प्रहरीको तथ्याङ्क अनुसार देशभर सन् २०१७ मा ३ हजार ९ सय ४१ जना लागु पदार्थ कारोबार तथा दुर्व्यसनमा पक्राउ परेका छन् भने सन् २०१८ मा ४ हजार ८ सय ९८ र गत वर्ष सन् २०१९ मा पक्राउ परेका ५ हजार ६ सय ७ जना रहेका छन् । यो संख्या प्रत्येक बर्ष बढेको छ ।