रुघाखोकी प्रभावित हुम्लामा स्वास्थ्यकर्मीले काम थाले

हुम्ला, १५ माघ (जागरण) । रुघाखोकीको प्रकोप फैलिएको हुम्लाको चंखेली, सर्केघाट र खार्पुनाथलगायतका स्थानमा औषधि सहितको टोलीले नियन्त्रणका लागि काम शुरु गरेको छ ।
कर्णाली प्रदेश सरकारले प्रदेश अस्पताल सुर्खेतका डाक्टर सागर दाहाल, मेहलकुना अस्पतालका डाक्टर विवेक शाह सहितको स्वास्थ्यकर्मी टोली र औषधि पठाइएको स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेश सुर्खेतले जनाएको छ ।
तीन सातादेखि फैलिएको मौसमी फ्लुका कारण हुम्लामा सात जनाको मृत्यु भइसकेको छ ।
रुघाखोकीको प्रकोप सम्बन्धी प्रतिबेदन सार्वजनिक गर्दै निर्देशनालयले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाबाट तीन जना चिकित्सक सहितको टोली प्रभावित स्थानतर्फ परिचालित भइसकेको जनाएको छ ।
माघ १२ पछि कुनै पनि स्थानमा रुघाखोकीबाट मृत्यु भएको जानकारी प्राप्त नभएको स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशका निर्देशक रिता भण्डारीले बताउनुभयो ।