मदन–आश्रितको सम्झना गर्दै ओली र प्रचण्डले बाँड्नेछन् पार्टी एकताको सन्देश

काठमाण्डौं, ३ जेठ (नेपाल लाईभ) । नेकपा एमालेका जननेता मदन भण्डारी र नेता जीवराज आश्रितको २५औं स्मृति दिवसमा मदननगर बल्खुमा आयोजित श्रद्धाञ्जलीसभामा नेकपा एमाले र माओवादी केन्द्रका नेता(कार्यकर्ता भेला भएका छन्। कार्यक्रममा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्दैछन्।

हिजो पार्टी एकताका सबै लेनदेन र प्रक्रिया पूरा गरेका एमाले र माओवादीका दुवै अध्यक्षले आज मदन(आश्रितलाई सम्झँदै पार्टी एकताको सन्देश नेता(कार्यकर्तामाझ बाँड्नेछन्। बल्खुस्थित पहिलाको एमाले पार्टी कार्यालय रहेको मदननगरमा अहिले नेता(कार्यकर्ता जम्मा भइरहेका छन्।

२०५० जेठ ३ मा चितवनको दासढुंगास्थित त्रिशुली नदीमा जिप खसेर नेताद्वय मदन भण्डारी र जीवराज आश्रितको मृत्यु भएको सम्झनामा हरेक वर्ष नेकपा एमालेले श्रद्धाञ्जलीसभा गर्दै आएको छ।

आजको सभा किन पनि महत्वपूर्ण छ भने, तत्कालीन एमाले महासचिव मदन भण्डारीले ’कम्युनिस्ट एकताका लागि आफूलाई बोलाएको’ बताउने प्रचण्डको पार्टी माओवादी केन्द्र र मदन भण्डारीले कोरेको मार्गमा हिँडिरहेको एमालेबीच एकताको घोषणा हुँदैछ।

माओवादको विचारधारा अनुसार ’जनयुद्ध’बाट आएका प्रचण्ड र मार्क्सवाद लेनिनवादसँग जोडिएर मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवादमा निरन्तर हिँडिरहेका अध्यक्ष ओलीले आज आफूहरु वैचारिक र सांगठिक रुपमै एक भएको घोषणा गर्नेछन्।

आजै बस्ने पार्टी एकता संयोजन समितिको बैठकले एकताको औपचारिक निर्णय गर्ने र त्यहीअनुसार निर्वाचन आयोगमा नयाँ दल दर्ता भएपछि विधिवत रुपमा यो एउटा पार्टी हुनेछ। त्यसैले नेकपा एमाले र माओवादी केन्द्रका नाममा दुवै अध्यक्षले गर्ने आजको सम्बोधन अन्तिम हुन सक्नेछ ।
मदन(आश्रितलाई श्रद्धाञ्जली दिन र पार्टी एकताको ऊर्जा बोकेर फर्किन एमाले र माओवादीका नेता(कार्यकर्ता बल्खु पुगेका छन्। सभास्थलमा एमाले नेताहरु माधवकुमार नेपाल, वामदेव गौतम, सुवास नेम्वाङ, भरतमोहन अधिकारी लगायत नेताहरु पुगिसकेका छन् । यसैगरी माओवादी केन्द्रबाट नारायणकाजी श्रेष्ठ, गृहमन्त्री रामबहादुर थापा बादल कार्यक्रमस्थलमा पुगेका छन् ।