जाजरकोट, १५ माघ (रेडियो खलङ्गा) । कर्णाली प्रदेशलाई प्रांगारिक प्रदेश बनाउने लक्ष्य सफल पार्न जाजरकोटका स्थानीयतहले रासायनिक मल आयात र प्रयोगमा प्रतिबन्ध लगाउन थालेका छन् । कुशे गाउँपालिकाले रासायनिक मल तथा विषादी आयातमा प्रतिबन्ध लगाएको हो ।
अर्गानिक गाउँपालिकाको रूपमा गत वर्षदेखि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको कुशेले पुस अन्तिम साताको गाउँसभाबाट रासायनिक मल तथा विषादी आयातमा प्रतिबन्ध लगाएको हो ।
गाउँपालिकाको निर्णयअनुसार रासायनिक मल र विषादी भित्र्याउन नदिन सबै सीमा क्षेत्रमा नेपाल प्रहरी परिचालन गरिएको छ । गाउँपालिका अध्यक्ष हरिचन्द्र बस्नेतले प्रवेश क्षेत्रमा चेकजाँच सुरु भइसकेको जानकारी दिनुभयो ।
कर्णाली प्रदेश सरकारले गत वर्ष गाउँपालिकालाई अर्गानिक गाउँपालिका घोषणा गरेको थियो । निर्णय कार्यान्वयनको क्रममा गाउँपालिकाले ९ नम्बर वडास्थित कृषि केन्द्रमा मौज्दात रहेको विषादी नष्ट गरिएको छ । गाउँपालिकाकाले यस वर्ष कृषकलाई जैविक विषादी तयार गर्ने तालिम दिन थालेको समाचार रेडियो खलङ्गा जाजरकोटले पठाएको छ ।